१४ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक फलफूल खेती

म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–४, घाँसामा एक कृषकले जग्गा भाडामा लिएर व्यावसायिक फलफूल खेती गरेका छन् । स्याउ र अन्य जातका फलफूल खेतीका लागि प्रचुर सम्भावना रहेको घाँसामा वार्षिक ४४ हजार रुपैयाँ भाडा तिरेर १४ रोपनी जग्गामा फलफूल खेती गरिएको छ ।
४४ वर्षीय खेमबहादुर शाहीले केबी शाही फुड्स एन्ड फरावर नर्सरी फर्म सञ्चालन गर्नुभएको छ । जाजरकोट स्थायी घर भएका शाहीले भाडामा जग्गा लिएर स्याउको नर्सरी स्थापना गरी वार्षिक रूपमा बिरुवा बिक्री गर्दै आइरहनुभएको छ भने हलुवाबेद, नास्पाति, ओखर, दैनिक उपभोग गर्ने तरकारीलगायत माटो सुहाउँदो अन्य फलफूल खेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी गरिरहनुभएको छ ।
गत वर्ष ५ हजार स्याउका बिरुवा बिक्री गर्नुभएका शाहीले यस वर्ष पनि धेरै ठाउँबाट माग आइरहेको जानकारी दिनुभयो । उहाँको नर्सरीबाट रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियसका साथै इटालियन गाला फुजी प्रजातिको स्याउका प्रति बिरुवा तीन सय देखि नौ सय रुपैयाँमा बिक्री हुन्छ । कृषक शाहीको नर्सरीमा ९ हजारभन्दा बढी विभिन्न प्रजातिका फलफूलका बिरुवामध्ये ६ हजार स्याउको रहेका छन् । उहाँले १९ वर्षका लागि भाडामा लिएको जग्गामा समेत ३ सय बोट स्याउ लगाएको बताउनुभयो ।
छिमेकी मुलुक भारतको हिमाचल प्रदेशको सिम्लामा मजदुरको रूपमा साढे दुई दशकसम्म काम गरेर सिकेको सिपलाई तल्लो मुस्ताङको समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा नर्सरी र स्याउ खेती विस्तार सफल भएपछि स्थानीय तहले समेत तालिममा प्रशिक्षकका रूपमा कृषक शाहीलाई लैजाने गरेका छन् । नर्सरी हेर्न विभिन्न जिल्लाबाट आउने कृषकलाई निःशुल्क रूपमा विरूवाको साथै सिप समेत सिकाउने गर्नुभएका उहाँले अर्काको घरमा मजदुरीभन्दा सिप सिकेर उद्यमी बन्न सकिने प्रेरणादायी उदाहरण समेत प्रस्तुत गर्नुभएको छ । बेनी–जोमसोम–कोरला सडक सञ्जाल स्तरोन्नतिपछि अहिले फलफूल र सागसब्जी उत्पादन गरेर बिक्री गर्न सहज भएको छ ।
कृषक शाही १४ वर्षको कलिलै उमेरमा ९ कक्षा पढ्दापढ्दै परिवारलाई छलेर भारतको हिमाचल प्रदेशको सिम्ला पुग्नुभएको थियो । परिवारको आर्थिक अवस्था कमजोर तथा कमाउने चाहनाले भारत जानुभएका उहाँले सिम्लामा २५ वर्षसम्म स्याउ फर्ममा नै काम गर्नुभयो । वि.सं. २०५१ सालमा भारत पुगेर शाही १७ वर्षपछि परिवारको सम्पर्कमा आउनुभएको थियो । भारतबाट फर्किदा शाहीसँग हातमा सिपबाहेक अरू केही थिएन । उहाँले भन्नुभयो, ‘मैले हातमा सिप मात्रै लिएर आएँ, मजदुरी गर्दा पेट पाल्न पनि मुस्किल थियो ।’
मजदुरले जीवन निर्वाह मात्रै भए पनि व्यावसायिक कृषि खेतीमा लागेपछि अहिले आर्थिक समस्या नभएको कृषक शाही बताउनुहुन्छ । घर परिवारले हराएको लामो समयपछि नफर्किएपछि आस मारेको अवस्थामा विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण लकडाउन भएपछि घर फर्किएको केही वर्ष स्याउ बारीमै काम गर्नुभएका शाही दुई वर्षदेखि तल्लो मुस्ताङमा कृषि खेती गरिरहनुभएको छ ।
हिमालपारिको जिल्लाको रूपमा रहेको मुस्ताङमा व्यावसायिक रूपमा फलफूलतर्फ स्याउ र ओखर खेती हुन्छ । यसै गरी मुस्ताङका स्थानीयवासीले फलफूलसँगै आलु, फापर तथा जौको खेती गर्ने गर्दछन् । मुस्ताङका कृषकहरूको मुख्य आम्दानीको रूपमा स्याउ खेती र भेडा पालन रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्