त्रिभुवन विमानस्थल हुँदै तेस्रो मुलुक जाने भारतीय नागरिकको सङ्ख्या बढ्दो
गएको एक महिनामा मात्र एनओसी नलिएका ३९० जना भारतीय नागरिक विमानस्थलबाट फिर्ता

काठमाडौँ- तेस्रो मुलुकमा जान भारतीय नागरिकहरूले नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रयोगको सङ्ख्या विगतका वर्षहरूमा भन्दा बढ्दै गएको पाइएको छ ।
अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्ला चार बर्षमात्र करिव ८० हजार भारतीय त्रिभुवन विमानस्थलको बाटो प्रयोग गरी तेस्रो मूलक गएका छन् ।
२०२५ जनावरी यता मात्र गएको छ महिनामा ७ हजार १ सय ७७ जना भारतीय नागरिकले तेस्रो मुलुक जानका लागि नेपालको त्रिभुवन विमान स्थल प्रयोग गरेको छन ।
त्रिभुवन विमानस्थल मार्फत तेस्रो मुलुक जाने भारतीय मध्ये सवै भन्दा बढी संयुक्त अरब इमिरेट, चीन र हंकङक कुवेत लगायतका देशहरूमा जाने गरेको अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालले जानकारी दिनुभयो ।
कुन वर्षमा कति नागरिक त्रिभुवन विमानस्थल प्रयोग गरी तेस्रो मूलक बाहिरिए ?
- सन २०२४ – १६८१९
- सन २०२३ – १४५२५
- सन २०२२ – १२९५०
- सन २०२१ – २६,६९०
- सन २०२० – ३८१
नेपालको विमानस्थल प्रयोग गरी तेस्रो मुलुक भ्रमण गर्न भारतीय नागरिकलाई एनओसी अनिबार्य
भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गरी तेस्रो मुलुक भ्रमण गर्न जाँदा भारतीय दूतावासबाट जारी हुने एनओसी देखाउनुपर्ने ब्यवस्था छ ।
तर कतिपय भने एनओसी विनै तेस्रो मुलुक पुगेको पाइएको छ । यसमा विमानस्थल कर्मचारीको मिलोमतो हुन सक्ने आशंका बढेसँगै भिजिट भिषा प्रकरणका साथै यस विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ ।
त्यसो त यस बिषयमा गृह मन्त्रालयले पनि छानबिन गर्न समिति गठन गरि अनुसन्धान गरेको थियो। भारतीय दूतावासबाट एनओसी नलिएका भारतीय नागरिकहरूलाई तेस्रो मुलुक जान कडाइका साथ रोक्दै आएको अध्यागमनका अधिकारीहरूले दोहोराउँदै आएका छन् ।
समितिको प्रतिवेदन भने हालसम्म सार्वजनिक गरिएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतहरूले यस विषयमा विस्तृत अनुसन्धान जारी रहेको बताएका छन्।
पछिल्लो एक महिनामा मात्र एनओसी नलिएका ३९० जना भारतीय नागरिक विमानस्थलबाट फर्काइयो
यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई अघि बढाएसँगै दुतावासबाट एनओसी नलिएका दैनिक जसो ८ देखि १० जना भारतीय नागरिक विमानस्थलबाट फिर्ता हुने गरेका छन् । त्यसो त केही बर्ष अघि देखि नै एनओसी नलिएका भारतीय नागरिकलाई तेस्रो मुलुकको उडान अनुमति नदिएको अध्यागमन विमागका अधिकारीहरुको भनाइ छ ।
पछिल्लो एक महिना अर्थात गत मे १९ देखि जुन १९ गते सम्म दुतावासको एनओसी विना नै नेपालबाट तेस्रो मुलुक प्रस्थान गर्न त्रिभुवन विमान स्थल पुगेका ३९० भारतीय नागरिक फिर्ता गरिएको प्रवक्ता ढकालले जानाकारी दिनुभयो ।
दुतावासको एनओसी नलिइ ८ देखि १० जना सम्म दैनिक जसो विमानस्थलबाट फर्काइने गरेको ढकालले बताउनु भयो । यसरी विमानस्थलबाट फर्कने त्यस्ता कतिपय भारतीय नागरिकमा भने नेपालबाट तेस्रो मुलुक जादा दुतावासको एनओसी चाहिन्छ भन्ने ज्ञान मेत नभएको पाइएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।
कुन गृह मन्त्रीका पालामा कति उडे?
गृहमन्त्रालयको निजी सचिवालयबाट प्राप्त तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने दुई पटक गृहमन्त्री हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा कुल ८ हजार २ सय ७९ जना भारतीय नागरिक तेस्रो मुलुक गएको खुलेको छ ।
लामिछाने पहिलो पटक ४ महिना गृहमन्त्री हुदाँ ७ हजा र ४० जना र दोश्रो पटक गृहमन्त्री हुदा १२ सय ३९ जना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गएको तथ्याङ्कले देखाएको छ । रविको पहिलो कार्यकालमा दैनिक औसतमा ५८ जना र दोश्रो कार्यकालमा औषक ३८ जना भारतीय भिजिट भिषामा विदेश उडेका छन् ।
सचिवालय स्रोतका अनुसार रविको पालामा सबैभन्दा बढी भारतीयहरु नो अब्जेक्सन लेटर (एनओसी) विना नै तेस्रो मुलुक गएका थिए । त्यसैगरी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ १ वर्ष ३ दिन गृहमन्त्री भएका बेला १४ हजार ७४ जना भारतीयले तेस्रो मुलुक जान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरेको देखिन्छ ।
श्रेष्ठको पालामा दैनिक औसत ३८ जना भारतीय विदेशिएका थिए । त्यो भन्दा पहिले ३ वर्ष ४ महिना १६ दिन गृह मन्त्री भएका एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) को पालमा १५ हजार ३२ जना भारतीय नागरिक अध्यागमन मार्फत तेस्रो मुुलुक गएको अध्यागमनको तथ्यांकले देखाएको छ । थापाको पालामा दैनिक औसतमा १२ जना भिजिट भिषामा विदेश उडेका थिए ।
त्यसैगरी नेपाली कांग्रेसका नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा सबैभन्दा बढी भारतीय नागरिक भिजिट भिषामा तेस्रो मुलुक गएको देखिएको छ । खाण १ बर्ष ५ महिना १३ दिन गृहमन्त्री रहदा २४ हजार ६ सय २१ जना र औषत ४७ जना भारतीय नागरिक भिजिट भिषामा तेस्रो मुलुक बाहिरिएका थिए । त्यति मात्र नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही समय गृह मन्त्रालयको नेतृत्व सम्हालेका बेला पनि ८२ जना भारतीय नागरिक तेस्रो मुलुक गएको देखिएको छ ।
तेस्रो मुलुकमा जाने भारतीयहरुमध्ये अधिकांश कतार, कुवेत, दुवई, हङकङ, मलेसिया, चीन, थाइल्याड र श्रीलंका लगायतका मुलुकमा जाने गरेको पाइएको छ । अधिकांश भारतीय नागरिकहरु यही बसोबास र यहीँबाट आवत जावत गर्ने गरेको पाइएको छ । बढी व्यापार ब्यवसायमा सलग्न हरु बढी रहेका छन् ।
१. रवि लामिछाने गृहमन्त्री हुदाँ : ८ हजार २ सय ७९ जना
२. नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुदाँ: १४ हजार ७४ जना
३. रामबहादुर थापा (बादल ) गृह मन्त्री हुदाँ : १५ हजार ३२ जना
४. पुष्पकमल दाहाल (प्रचण्ड) गृह मन्त्री हुदाँ : ८२ जना
५. बालकृष्ण खाण गृह मन्त्री हुदाँ : २४ हजार ६ सय २१
६ . रमेश लेखक १३ हजार ७ सय ८८






प्रतिक्रिया राख्नुहोस्