युद्धकालको हैरानीबाट जन्मिएको एभरेस्ट म्याराथनः यसरी बन्यो नेपालको विश्व ब्राण्ड

काठमाडौं – देशमा माओवादी सशस्त्र युद्ध चलिरहेको थियो । पर्यटन क्षेत्रमा नेपालको ब्राण्ड विश्वभर राम्रो थिएन । नेपालको युद्ध समाचारहरु विश्व हेडलाइन बनिरहेका थिए । कुरा सन २००३ मे महिना तिरको हो । नेपालमा खर्चालु ग्लोबल नर्थका पर्यटकहरु आउन डराएपछि त्यसको सिधा असर पर्यटन व्यवशायिहरुमा पर्यो । उनीहरुले विभिन्न विकल्पहरुको चर्चा सुरु गरे । कसैले भने विद्यालय खोलौँ । कसैले भने विदेश भासिऔँ । यो भिडमा बिक्रम पाँडेकाजी भने केहि अपवाद अनुहारहरुमा पर्नुभयो । उहाँले हार खानु भएन । पर्यटन क्षेत्रबाट हात धुने होइन नयाँ ब्राण्ड र नाम बनाएर नेपाली पर्यटनमा चहलपहल ल्याउन सोच्नु भयो । त्यसैको एक मोर्चा बन्यो– तेन्जिङ हिलारी एभरेस्ट म्याराथन । सगरमाथा आधार शिविर पुग्ने । आधार शिविरबाट दौडको सिठी फुकेपछि दुगर्दै नाम्चे बजारसम्म आउनुपर्ने । आम मान्छेलाई सुन्दै जिरिङ हुने यो प्याकेजले विश्वभरको ध्यान तान्यो ।
पहिलो संस्करणमै बीबीसी चासो, बन्यो विश्व मिडियामा आउने एक्लो नेपाली म्याराथन
मे २९ सगमाथा र तेन्जिङ नोर्गे शेर्पा दुवैलाई महत्पुण दिन । सन १९५३ मे २९ मा सगरमाथाको शिखरमा प्रथम मानव पाइला पुगेको थियो । र मे २९ नै हो सगरमाथाको चुचुरोमा पाइला राख्ने दुई प्रथम मानवमा एक तेन्जिङ नोर्गे शेर्पाको जन्मदिन । तेन्जिङ हिलरी एभरेष्ट म्याराथन पनि मे २९ कै साइत जुराइयो । प्रथम संस्करण सन २००३ को मे २९ मा हुँदा बेलायती विश्व च्यानल बीबीसीका विरिष्ठ अनुहारहरु आधार शिविरमै भेटिए । सगरमाथा आरोहणको स्वर्ण महोत्सव भएको छेका पारेर उनीहरु सगरमाथामा पुगेका थिए ।
उसो त सगरमाथा पत्ता लगाउने, नाप्ने र प्रथम आरोहण प्रयास गर्नेदेखि प्रथम सफल आरोहण गर्ने सबैमा बेलायतकै नेतृत्व थियो । त्यहि ऐतिहासिक विरासतले बेलायतीहरुलाई सगरमाथामा प्रथम मानव पाइला पुगेको स्वर्ण महोत्वसको अवसरमा आधार शिविरसम्म पुर्याएको थियो । यसले एभरेष्ट म्याराथनलाई पनि विज्ञापनमा सहयोग भयो । बीबीसीलाई पनि सगरमाथाको नाममा आएको फरक विश्व कन्टेन्ट बन्यो । उनीहरुले भव्य प्रचार गरे । बीबीसीले त्यस पछिका विभिन्न संस्करणका समाचार पनि प्राथामिकताले प्रकाशन तथा प्रशारण गर्दै आएको छ । जस्तै यो वर्ष अर्थात् सन २०२५ को २१ औँ संस्करणमा क्यान्सरसँग लडिरहेकि महिला साउन्नाको समाचार बीबीसीले बनाएको छ भने सन २०१५ मा भूकम्पछि एभरेष्ट म्याराथनको समय बढेको समाचार पनि प्राथाकिताकासाथ दिएको थियो । सन २०२२ मा बेलायती वन्यजन्तु फोटोग्राफर पाउल गोल्स्टिनले नौ फिट अग्लो बाघको पहिरनमा दौडिएको समाचार त विश्वभर भाइरल भएको थियो ।
सन २०२० र सन २०२१ का संस्करणमा बाहेक एभरेष्ट म्याराथ नियमति भएका छन् । विश्वभरका नाम चलेकाहरुले भाग लिएका छन् । ‘हाम्रो म्याराथन विश्वकै सबैभन्दा अग्लो स्थानको म्याराथन भएकोले धेरैको चासो छ’, विक्रम पाँडे काजी भन्नुहुन्छ, ‘हाम्रो म्याराथनमा दृष्टिविहिनदेखि खुट्टा नभएकाहरु पनि आउनु भएको छ ।’ पाँडे काजी विश्व मिडियामा आउने एक्लो नेपाली म्याराथन एभरेष्ट म्याराथनै भएकोमा खुशी हुनुहुन्छ । विश्व स्तरिय म्याराथन भएतापनि दबदबा भने नेपालीहरुकै छ । सन २००३ को पहिलो संस्करणदेखि सन २०२५ को पछिल्लो संस्करणका सबै बिजेताहरु नेपाली अनुहारहरु छन् । सन २००३ मा उत्तम कुमार राईले ३ घण्टा ३४ मिनेट १२ सेकेण्डमा ४२ किलोमिटर लम्बाईको दौड समेत विजय हुन सफल हुनुभएको थियो भने यो वर्षको संस्करणमा सुमन कुलुङले ३ घण्टा ५० मिनेट २६ सेकेण्डमा दौड सकाउनु भएको थियो ।
तेन्जिङ र हिलरी पुत्रले दृष्यावलोकन गरेर बढेको म्याराथनको लिगेसी
सगरमाथा क्षेत्रमा आयोजना हुने तेन्जिङ हिलरी एभरेष्ट म्याराथनमा तेन्जिङ र हिलरी दुवैका पुत्रले पनि दृष्यावलोकन गरिसक्नु भएको छ । सगरमाथा आरोहणको ७० औँ वर्षगाँठको अवसरमा तेन्जिङपुत्र जाम्लिङ तेन्जिङ शेर्पा र हिलरीपुत्र पिटर हिलरी पनि सहभागी हुनुभएको थियो । उहाँहरुले सगरमाथा राष्ट्रिय निकुन्जमा गुराँसको वृक्षारोपण गर्नुभएको थियो । नेपालका लागि विभिन्न देशका राजदुतहरु तथा कुटनीतिक नियोगका अधिकारीहरु पनि म्याराथनको अवसरमा सगरमाथा क्षेत्रमा पुगिसकेका छन् । अझ रोचक कुरा दौड सुरु भएको दशक नाघेपछि संस्थापक तथा म्याराथनका सर्जक बिक्रम पाँडेकाजी ग्रिसको मान्नार्थ महावाणिज्यदुत हुनुभयो । ग्रिस त्यहि देश हो जहाँबाट म्याराथनको नामाकरण र प्रतिस्पर्धाको जन्म भएको थियो ।
एभरेष्ट म्याराथन धावकहरुले वृक्षारोपण गरेर सगरमाथाको वातावण क्षेत्रमा स्वयंसेवा पनि गर्दै आइरहेका छन् । काठमाडौँबाट गएर दौड गरेर आउँदा बीस दिन लाग्ने प्याकेज फगत् एक प्रतिस्पधर्मा मात्रै होइन् । यो त एक हिमाली ध्यानकर्म जस्तो पनि हो भन्ने टिप्पणी धेरैको छ ।
२१ संस्करणसम्म कुनै धावकको दुर्घटना नभएको रोचक संयोगः कस्तो हुन्छ सतर्कता?
अहिलेसम्म एरभेष्ट म्याराथनमा सयौँ धावकहरु दौडिएका छन् । हजारौँले हेरेका छन् । यद्यपी कुनैपनि धावकहरुलाई ठुलोचोपटक लागेको, भिरबाट खसेको जस्ता समाचार आएका छैनन् । यसो हुनुमा आयोजकले राखेको एक स्ट्याण्डबाई हेलिकप्टर अनि स्वाथ्र्यकर्मी हुन भन्नुहुन्छ संस्थापक तथा म्याराथनका सर्जक बिक्रम पाँडेकाजी । ‘हेलिकप्टर स्ट्याण्डबाई राखिने विश्वको यो मात्रै म्याराथन हो’, पाँडेकाजी नेपाल टेलिभभिजनसँग बोल्दै भन्नुहुन्छ, ‘त्यहि भएर त होला खुट्टा नभएका, गर्भवति भएका, क्यान्सर लागेकादेखि आँखा नदेख्नेसम्मले ढुक्क भएर सहभागिता जनाउनु भएको छ ।’
तयारी अन्नपुर्ण म्याराथनको
नेपालका स्थापित पर्यटन उद्यमीदेखि लुम्बिनिको सद्भावनादुत पाँडेकाजीको अर्को म्याराथन सपना पनि । त्यो सपना अन्नपुर्ण हिमालको फेदबाट गर्ने म्याराथनको हो । सन १९५० जुन ३ मा फ्रान्सेली आरोहणदलबाट आरोहण गरिएको हिमाल हो अन्नपुर्ण हिमाल । विश्वका आठ हजार भन्दा माथिका १४ हिमालमा सबैभन्दा पहिलो मानव पाइला परेको हिमाल नै अन्नपुर्ण नै हो । यो हिमालको क्षेत्रमा पनि अर्को हिमाली दौडको सपना छ पाँडेकाजीको । उहाँ भन्नुहुन्छ, ‘जसरी एभरेष्ट म्याराथनले नेपाली म्याराथनमा विश्व बजारमा चर्चा कमाएको एक्लो म्याराथनको नाम र ब्राण्ड बनाएको छ । अब अर्को थपिने म्याराथन अन्नपुर्णको हो । यसमा हाम्रो तयारी भइसकेको छ ।’
प्रतिक्रिया राख्नुहोस्