बलान नदीमा डुबेका बालकको शव फेला

सिरहा – सिरहा र सप्तरीको सीमामा पर्ने बलान नदीमा सोमबार बिहान नुहाउने क्रममा बेपत्ता भएका एक बालकको शव घटनाको भोलिपल्ट मंगलबार फेला परेको छ।
सखुवानन्कारकट्टी गाउँपालिका–३, परियारपुर निवासी १४ वर्षीय घनश्याम यादव बलान नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनास्थल हुलाकी राजमार्गअन्तर्गत रहेको बलान नदीको पुल नजिकको क्षेत्र हो। स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रारम्भिक खोजी गर्दा सफलता मिल्न नसकेपछि मंगलबार बिहान बर्दिबासबाट विशेष गोताखोर टोली बोलाइएको थियो।
सोही टोलीले बिहान करिब ११:३० बजे पुलभन्दा झण्डै ५० मिटर दक्षिणतर्फ नदीमा घनश्यामको शव फेला पारेको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी कैलाश राईले जानकारी दिनुभयो।






प्रतिक्रिया राख्नुहोस्