पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

काठमाडौँ- आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवम् पवित्र वाग्मती नदीको विशिष्टता उगागर गर्ने उद्देश्यले गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) समूह आइतबार पशुपति आइपुगेको छ ।
भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गरिएको थियो । महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा समूह पशुपति क्षेत्र आइपुगेको हो ।
गत चैत १५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गरी १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ भएको पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट भएको थियो । कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदिक्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदलयात्रा गरी समूह अघि बढेको थियो । ४२ दिनमा तीर्थयात्रा पशुपति आइपुगेको हो ।
‘बृहत्–पाशुपत–परिक्रमा’ का सङ्कल्पकर्ता गिरिले पशुपति तत्वका बारेमा प्रकाश पार्दै पशुपतिको लघुपरिक्रमा, मध्यमपरिक्रमा र बृहत्परिक्रमाका बारेमा उल्लेख गर्नुभएको थियो ।
पशुपतिनाथ विश्वका धार्मिक क्षेत्रमध्ये आध्यात्मिक दृष्टिले ऊर्जाशील भूमि नेपाललाई रोजेर वाग्मती तटमा विराजमान हुनुभएकाले यसको महत्व उजागर गर्नुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिँदै आएका छन् ।
‘बृहत् पाशुपत पदयात्रा’ लाई भव्यताका साथ सम्पन्न गर्न ‘मूल आयोजक समिति’ र विभिन्न उपसमितिको समेत गठन गरिएको थियो । पशुपति आइपुगेपछि समूहले यस क्षेत्रका भुवनेश्वर, भष्मेश्वर, रुद्रगारेश्वरलगायत तीर्थस्थलमा विधिवत् पूजा, आराधना र रुद्राभिषेक पनि सम्पन्न गरेको जनाइएको छ ।
आज (सोमबार) बिहान पशुपतिनाथ मूल मन्दिरसहित वाग्मती नदीमा पूजा, आराधना र अघ्र्यदान गरेपछि बृहत् पाशुपत पदयात्रा समापन कार्यक्रम आयोजना गरिने जनाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्