नेपाल टेलिभिजनका ईश्वर महर्जन ललितपुर पत्रकारिता पुरस्कारबाट सम्मानित

ललितपुर- नेपाल टेलिभिजनका पत्रकार ईश्वर महर्जन ललितपुर पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको २५औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा महर्जनलाई उक्त पुरस्कार प्रदान गरिएको हो। ललितपुरमा रहेर जिल्लाका विविध विषयवस्तु, जनसरोकारका मुद्दा तथा स्थानीय गतिविधिलाई सञ्चारमाध्यममार्फत उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको महासंघले जनाएको छ ।

लामो समयदेखि टेलिभिजन पत्रकारितामार्फत ललितपुरका सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा विकाससम्बन्धी विषयलाई राष्ट्रिय स्तरमा पुर्‍याउन सक्रिय भूमिका खेल्दै आएका महर्जनको योगदानको कदरस्वरूप ललितपुर पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

सोही पुरस्कारबाट मिडियासञ्चारडटकमका पत्रकार केदारनाथ दाहाल पनि सम्मानित भएका छन्। उनीहरूलाई ललितपुरका विषयवस्तुलाई निरन्तर प्राथमिकताका साथ उठान गरी स्थानीय पत्रकारिताको विकासमा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको हो ।

कार्यक्रममा राजधानी दैनिकका डिल्ली आचार्य र रातोपाटीका नरेश ज्ञवालीलाई हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कार, नयाँसडक दैनिकका ज्ञानप्रसाद पौडेललाई धर्मरत्न शाक्य जीवन्त पत्रकारिता पुरस्कार, नेपालखबरका जनार्दन पोखरेललाई राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार तथा दियोपोष्टकी रीता बुढाथोकीलाई सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

पूर्व प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकारिताको व्यावसायिक विकास, प्रेस स्वतन्त्रता तथा संस्थागत सुदृढीकरणका विषयमा समेत चर्चा गरिएको थियो ।

साधारण सभाको बन्द सत्रमा शाखाका सचिव दीपक अर्यालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.