बागमतीमा हेल्लो सीएम सेवा सुरु

मकवानपुर- बागमती प्रदेश सरकारले नागरिकका गुनासा प्रत्यक्ष रूपमा सुन्न, सुनुवाइ गर्न र समाधान प्रक्रियालाई प्रभावकारी बनाउन ‘हेल्लो सीएम’ गुनासो व्यवस्थापन सेवा सञ्चालनमा ल्याएको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।

सेवाका लागि मुख्यमन्त्री कार्यालयमै छुट्टै फाँट स्थापना गरिएको छ । नागरिकले टोलफ्री नम्बर १६६०५७५२८९८, ह्वाट्सएप नम्बर ९८५५०८९४५६ तथा ocmcm@bagmati.gov.np इमेलमार्फत आफ्ना गुनासा दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

दर्ता भएका गुनासा तत्काल सम्बन्धित मन्त्रालय वा निकायमा पठाइने र समाधान प्रक्रियाको निरन्तर अनुगमन गरिने जनाइएको छ ।

प्रत्येक गुनासालाई छुट्टै आईडी प्रदान गरिने भएकाले सोही आईडीमार्फत गुनासोकर्ताले आफ्नो गुनासाको अवस्था, सुनुवाइ तथा समाधानको प्रगति अनलाइनमै हेर्न सक्नेछन् ।

सेवा सञ्चालनको पहिलो दिन नै हेटौँडा उपमहानगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, नापी कार्यालय तथा मुख्यमन्त्री कार्यालय जाने सडक लामो समयदेखि अलपत्र रहेको विषयमा गुनासो आएको थियो ।

टोलफ्री नम्बरमा आएको गुनासो सुनेपछि मुख्यमन्त्री बानियाँले सम्बन्धित निकायलाई उक्त सडक निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिनुभयो ।

मुख्यमन्त्री बानियाँले सरकार नागरिकका गुनासा सुन्न मात्र नभई तिनको समाधान गर्न पनि प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले प्रदेश सरकार जनताको विकास, समृद्धि र दैनिक समस्यासँग प्रत्यक्ष रूपमा जोडिएको संरचना भएकाले सरकारलाई जनताप्रति थप उत्तरदायी बनाउन ‘हेल्लो सीएम’ सेवा सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.