सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा छौँ: सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनुभएको छ ।
सभापति लामिछानेले आज एक प्रेस विज्ञप्ति जारी गरेर ‘जेनजी’ आन्दोलन कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन नभएको बताउनुभएको छ ।
सभापति लामिछानेले ठिक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा एउटा नयाँ जागरणको विस्फोट भएको स्मरण गराउनुभएको छ ।
सभापति लामिछानेले परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उहाँले आन्दोलनका क्रममा अङ्गभङ्ग भएका, घाइते भएका तथा मानसिक एवं शारीरिक चोट भोगेका सम्पूर्णप्रति सम्मान व्यक्त गर्दै, राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनःस्थापनाको दायित्व पूरा गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सभापति लामिछानेले सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायको रचनात्मक खबरदारी र कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलाउन पनि अनुरोध गर्नुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्