पार्टीदेखि सरकारसम्म, संघदेखि प्रदेशसम्म समस्यै समस्या

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालले केन्द्रमा बिकसित घटनाक्रमको असर नै मधेश प्रदेश सरकारमा पनि देखिएको बताएको छ ।
मधेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएपछि ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेपालका प्रवक्ता मनिष सुमनले केन्द्रीय परिस्थिति अनुसार नै मधेशमा एमाले र माओवादीले सरकार छाडेको हुनसक्ने बताउनुभयो ।
उहाँले पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा पार्टीमा अनौपचारिक छलफल चलिरहेको भन्दै सोमबार केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
केन्द्रमा जसपा नेपालबाट मन्त्री बनेकालाई राजीनामा दिन प्रधानमन्त्रीको दवाव आएको हो भन्ने प्रश्नमा प्रवक्ता सुमनले आफु प्रधानमन्त्री कार्यालयको नभई जसपा नेपालको प्रवक्ता भएकाले यसको पुष्टि प्रधानमन्त्री कार्यालयले नै गर्नुपर्ने जिकिर गर्नुभयो ।
उहाँले अहिले केन्द्रमा पनि परिस्थिति फरक हुँदै गएकाले सवैलाई मध्यनजर गर्दै सोमबार उपयुक्त निर्णय गर्ने धारणा राख्नुभयो ।
प्रवक्ता सुमनले केही व्यक्तिहरुले पार्टी छाडेर गएपनि जसपा नेपाल अहिले पनि संगठनमा बलियो नै रहेको दावी गर्नुभयो ।
तर, आज मात्र प्रधानमन्त्रीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा गर्न भन्नुभएको चर्चा छ । यसका लागि निर्णय गर्न भोलि केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
पार्टी विभाजनपछि पनि सरकारलाई समर्थन जारी राखेको जसपा नेपालले मधेशबाट एकाएक एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि नयाँ राजनीतिक निर्णय गर्ने बाध्यता देखिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्