नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि थिएन, छैन : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिनुभयो ।

“नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रूचि थिएन र छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “प्राविधिक तयारीका समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । मैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ ।”

निरन्तर आफ्नो राजिनामा मागिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजीनामाको नाम दिएर नतर्सिन सुझाव दिनुभयो । “केही साथीहरू डराइरहनुभयो र राजीनामा मागिरहनुभयो । साथीहरूको आपसी विश्वास कमजोर भएर हो वा षड्यन्त्र आफैं सधै कमजोर हुने भएर हो, तर्सिरहनुभयो,” उहाँले भन्नुभयो, “आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो ।”

बाढीपहिरोको चपेटामा देश परेर सरकार चौबीसै घण्टा खटेर उद्दार र राहतमा लागिरहेको बेला वक्तव्यबाजी गरेर कर्मचारीतन्त्रलाई धम्क्याएर र फकाएर सरकारलाई प्रभावहीन बनाउन कोशिस गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले एमालेले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालिन असरका निर्णय र कुनै पनि नियुक्ति नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तपार्इंहरूले कहिल्यै देखाउनुभएको छ यो नैतिकता ? अल्पमतमा परेपछि पनि विगतमा एमाले नेतृत्वले कस्ता कस्तासम्म निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ ।”

विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिनुभयो । “मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन ।”

पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नभइ डरले जोड्नु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला ।”

प्रतिगमन र निरङ्कुशता आउने हो कि भन्ने आफूलाई चिन्ता लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.