‘बिपी कोइराला साहित्यकार, ‘साइकोलोजिस्ट’ सबैमा योग्य’

ललितपुर- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको स्मरण गर्नुहुँदै उहाँ साहित्यकार, ‘साइकोलोजिस्ट’ सबै कुरामा योग्य रहनुभएको बताउनुभएको छ ।

राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका प्रणेता जननायक बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालयको शुभारम्भमा मन्तव्य राख्नुहुँदै सभापति देउवाले राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रका लागि जुनसुकै बलिदान गर्न तयार व्यक्ति भएको बताउनुभएको हो ।

“कांग्रेसीहरु पढ्दै पढ्दैनन् भन्ने एउटा चलन छ, अब पुस्तकालय भएपछि अवश्य पढ्नुहुनेछ भन्ने लाग्छ । बिपी कोइरालाका सम्बन्धमा मैले भन्ने गरेको छु, उहाँ धेरै ठूलो व्यक्ति हो । हरचिजमा साहित्यकार, साइकोलोजिस्ट सबैकुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथसाथै धेरै कुरामा उहाँको योगदान छ”, सभापति देउवाले भन्नुभयो ।

महामन्त्री गगनकुमार थापाले जेलनेलको अवधिमा रहँदा पनि नेताहरूले अँगाल्नुभएको पठन संस्कृतिलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । “नेपाली कांग्रेसभित्र पठन संस्कृति अभिन्न अङ्ग बनाउनुपर्छ, तथ्यमा आधारित बहसका लागि पठन संस्कृति आवश्यक छ, कांग्रेस केन्द्रीय कार्यालय सेन्टर अफ बहस हुनुपर्छ”, महामन्त्री थापाले भन्नुभयो ।

उहाँले पार्टी कार्यालयको पुस्तकालय व्यवस्थित गर्न सभापतिको मार्गदर्शन महत्वपूर्ण भएको बताउनुहुँदै गर्व गर्नलायक पुस्तकालय बनेको धारणा राख्नुभयो । अध्ययनका लागि नयाँपुस्तालाई प्रेरित गर्न चाहने धारणा राख्दै महामन्त्री थापाले नेपाली जनताका जनजीविकाका बारेमा कांग्रेस केन्द्रीय कार्यालयमा शृखङ्लाबद्ध बहस चलाउने जानकारी गराउनुभयो ।

“हामीसँग भएको स्रोतको उपयोग गर्छौं, बिपीले आफ्नै हातले लेख्नुभएको सामग्री छन्, अरु सङ्कलन गर्ने काम भइरहेको छ । पुस्तकालय हेर्ने छुट्टै विभाग बन्छ, यसलाई व्यवस्थित गर्दै धेरै काम हुनेछन्”, उहाँले भन्नुभयो ।

पुस्तकालयमा ३२ हजारभन्दा बढी किताब रहेको जानकारी गराउँदै महामन्त्री थापाले पुस्तकालय प्रत्येक दिन खुल्दा नयाँ पुस्ताले यसलाई प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयमा जोकोही गएर अध्ययन गर्नसक्ने व्यवस्था गरिएको महामन्त्री थापाले जानकारी गराउनुभयो । पार्टी केन्द्रीय कार्यालयलाई चलायमान गराउने उद्देश्य राखेको कांग्रेसले पुस्तकालयबाट खोज अनुसन्धानकर्तालाई मद्दत पुग्ने अपेक्षा राखेको छ ।

पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकका साथै अन्य बिषयका किताबसमेत समावेश छन् । नेपाली कांग्रेसको स्थापनाअघिका विभिन्न दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बिपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवं संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थराजनीतिलगायत पुस्तक पुस्तकालयमा उपलब्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.