३०औँ विश्व आदिवासी जनजाति दिवस विविध कार्यक्रम मनाइँदै
काठमाडौँ – आज ३० औँ विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)ले विविध कार्यक्रम गरि मनाइएको छ ।
दिवसको अवसरमा राजधानि लगायत देशका विभिन्न शहरहरुमा र्यालीका झाँकीका साथै विविध कार्यक्रमहरुको आयोजना गरिएको छ ।
विश्वका आदिवासीहरूले विगत ३० वर्षदेखि मनाउँदै आइरहेको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस नेपालका आदिवासीले पनि विशेष उत्सवका रूपमा मनाउँदै आएका छन् ।
नेफिनले यो वर्ष “संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर” भन्ने मूल नारा सहित विश्व आदिवासी दिवस मनाएको हो ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले स्वैच्छिकरुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ । सोही सन्दर्भमा नेपालका आदिवासी जनजाति समुदायहरूले आज नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीत, सांस्कृतिक झाँकी, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभूषासहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनी मार्ग देखि प्रज्ञा भवन कमलादीसम्म परिक्रमा गरी आदिवासी जनजातिको भव्य प्रस्तुति गर्दै छन ।
झाँकीसहितको र्याली आज भृकुटीमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुँदै छ । नगर परिक्रमा पछि प्रज्ञा भवनको सभाहलमा मूल कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरू, पार्टी प्रतिनिधिहरू, संवैधानिक निकायका प्रमुखहरू, सांसदहरू, महासङ्घका पूर्व प्रमुखहरू, विभिन्न आदिवासी जनजाति विशिष्ट व्यक्तित्वहरू, जातीय संस्था र सम्बन्धन सङ्गठनका अध्यक्षलगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति सङ्घ संस्थाबाट हजारौँको उपस्थिति रहने बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्