१६५ परियोजनालाई १७ करोड रुपैयाँ बितरण

काठमाडौँ- स्टार्टअप उद्यम कर्जाबापत १६५ परियोजनालाई १७ करोड रुपियाँ वितरण गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत घोषणा गरिएको कार्यक्रमका लागि २५ करोड रुपियाँ विनियोजन गरिएको थियो । स्टार्टअप उद्यममा छनोट भएका परियोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कर्जा वितरण गरिएको औद्योगिक विकास प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताका अनुसार उद्यमीले राष्ट्रिय वाणिज्य बैङ्कको तोकिएको शाखा कार्यालयबाट पहिलो किस्ताबापत पाँच लाख रुपियाँ लिइसकेका छन् ।

त्यसैगरी केहीले दोस्रो किस्ता पनि लिएका छन् भने कालो सूचीमा परेका तीन वटा उद्योगले ऋण नपाउने भएका छन् ।

सिफारिसमा परेका परियोजनाले परियोजना धितो राखेर तीन प्रतिशत ब्याजदरमा पाँच लाख रुपियाँदेखि २० लाख रुपियाँसम्म कर्जा पाएका छन् ।

स्टार्टअप कर्जाको अवधि अधिकतम पाँच वर्षको हुने छ । स्टार्टअपलाई कर्जा दिने भनेर सरकारले चार वर्षअघिदेखि बजेटमा उल्लेख गर्दै आएको थियो । गत आव पनि अन्तिममा मात्रै कार्यान्वयनमा आएको हो ।

सरकारले चालु आवको बजेटमा पनि स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न एक अर्ब रुपियाँको ‘नेपाल स्टार्टअप कोष’ खडा गर्ने गरी बजेट विनियोजन गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.