बागमती प्रदेशका ७१ हजार ९ सय ७७ गाईभैँसीलाई लम्पी स्किन विरुद्ध खोप

मकवानपुर –  लम्पी स्किन रोग विरुद्ध सञ्चालन गरिएको खोप अभियानमा बागमती प्रदेशका ७१ हजार ९ सय ७७ गाईभैँसीलाई खोप लगाइएको छ ।

साउन २५ गतेदेखि सुरु गरिएको साताव्यापी अभियानमा बागमती प्रदेशका १३ जिल्लाका ७१ हजार ९ सय ७७ गाईभैंसीले लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको पशुपन्छी विकास महाशाखाका पशु सेवा अधिकृत डा. सन्तोष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा लक्ष्यको ९४ दशमलव ३६ प्रतिशत खोप लगाइएको छ । प्रदेशका ७६ हजार २ सय ७५ पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने मन्त्रालयको लक्ष्य रहेको थियो ।

अभियानमा ३६ हजार ९ सय १४ गाई÷गोरु÷साँढे, १० हजार १ सय १३ बाच्छा÷बाच्छी, १६ हजार ७ सय ३८ राँगा÷भैँसी र आठ हजार २ सय १२ पाडा÷पाडीमा खोप लगाइएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी चितवन जिल्लाका १० हजार २ सय ७९ पशुमा खोप लगाइएको छ । सबैभन्दा कम भक्तपुर जिल्लाका ६ सय ९४ गाईभैशींमा लम्पी स्किन रोग विरुद्ध खोप लागाइएको छ ।

अभियानमा मकवानपुरका ७ हजार १२ गाईभैंसीले खोप पाएका छन् । काठमाडौंका ५ हजार १ सय ३६, ललितपुरका २ हजार १ सय ४५, धादिङ जिल्लाका ७ हजार ४ सय ९२, काभ्रेपलाञ्चोकका ८ हजार ५ सय १३ गाईभैँसीमा खोप लगाइएको छ ।

यस्तै, नुवाकोटका ८ हजार ४८, रसुवाका ४ हजार ४ सय १०, सिन्धुलीका ५ हजार ४ सय ३७, रामेछापका ४ हजार २ सय २२, दोलखाका ७ हजार २ सय ८७, र सिन्धुपाल्चोकका १ हजार ३ सय २ गाईभैँसीमा खोप लगाइएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

अभियान सञ्चालनका लागि ३ सय ७६ भ्याक्सिनेटर परिचालन गरिएको थियो । गत आर्थिक वर्षमा लम्पी स्किनका कारण प्रदेशका ११ हजार दुई सय १८ गाईभैंसीको मृत्यु भएको थियो । यो वर्ष महामारी हुन नदिन समयमै खोप अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.