दुई ठुला पार्टीबीचको सहमति अन्य पार्टीको खिलाफमा होइन: देउवा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठुला पार्टी काँग्रेस र एमालेबीच भएको सहमति कुनै पार्टीको खिलापमा नभएको बताउनु भएको छ ।

मंगलबार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ठुलो दुई पार्टी बिचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरूले आफ्नो खिलाफको रूपमा लिन नहुने पनि बताउनु भएको हो ।

सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमति भए आफूहरूले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताउनु भयो । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरू अघि बढ्ने पनि बताउनुभयो ।

‘बहुलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौँ। अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमति भएको हो । केही कुराहरू छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने रु यही सहमति बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरूमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुईटा पार्टीबिच सहमति भएको छ । यो दुई पार्टीबिचको सहमति कुनै पार्टीको खिलाफमा होइन । यो सहमतिमा अरू सबै पार्टीहरूलाई समेट्दै लैजाने हो ।’ सभापति देउवाले भन्नुभयो ।

सभापति देउवाले दुई पार्टीबीच भएको सहमति सोची विचारगरी भएको सहमति भन्दै यसमा आशंका गरिरहनु पर्ने आवश्यक्ता नभएको बताउनु भयो ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली प्रजातन्त्रको मूलभूत सिद्धान्तको पक्षमा रहेको संविधान संशोधनमा सबै पार्टीहरूलाई साथसाथै लिएर जाने प्रतिवद्धता पनि जनाउनु भयो ।

कार्यक्रममा नेकपा समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र एमालेका दुईवटा ठुला नेताले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव नहुने वताउनु भयो ।

संविधानले के दिएको र नदिएको भन्नेबारे छलफलको विषय बन्न सक्नेमा आफ्नो फरक मत नरहेको भन्दै अध्यक्ष नेपालले संविधान संशोधनमा खुल्ला वहस हुनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष नेपालले नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको पनि बताउनु भयो।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि धेरै दल नभएर बलिया राजनीतिक दल र स्थायी सरकार आवश्यक रहेको वताउनु भयो । महासचिव पोखरेलले विकास र समृद्धि अघि वढाउन स्पष्ट दृष्टीकोण सहित स्थायित्वकालागि दुई पार्टी कांग्रेस र एमालेबिच सहकार्य र सहमति गरिएको स्पष्ट पार्नु भयो ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले देशमा भएका राम्रा कामको जस लिने नेतृत्वले काम गर्न नसक्ने विषयको भारी संविधानलाई बोकाउने प्रचलन बढेको वताउनु भयो । उपमहासचिव बस्नेतले राम्रो काम आफूले गर्दा भन्ने नेतृत्वले पूरा नभएका कामको जिम्मेवारी लिएर सुधार गर्नु पर्नेमा जोड दिनु भयो ।

स्कुल अफ डेमोक्रेसीले स्वर्गीय गिरीको दोश्रो स्मृतिदवसको अवसरमा राजनीतिमा निष्ठा र नैतिकता विषयक विचार विमर्श आयोजना गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.