रामेछाप पहिरो अपडेट 

४ जना अझै बेपत्ता, ५९ परिवार विस्थापित

रामेछाप –  रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार  बिहान गएको  पहिरोमा परि बेपत्ता भएका ४ जना अझै फेला परेका छैनन्  । पहिरोमा परेर एकै परिवारका ४ जना सहित ६ जनाको मृत्यु भएको थियो ।
आइतबार दिनभर प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहितको टोलीले खोजी कार्य जारी राख्दा समेत ४ जनालाई  फेला पार्न नसकिएपछि सोमबार बिहानबाट खोजी कार्य गर्ने गरी आइतबारको खोजी कार्यलाई स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिनु भयो । सोमबार खोजी कार्यलाई निरन्तरता दिइने दोरम्बा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले बताउनु भयो ।
घटना स्थलमा सङ्घीय सरकारका ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ र जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्की  हेलिकप्टरबाट पीडितहरूको अवस्था बुझ्न तथा स्थलगत अनुगमनका लागि लेखर्क गाउँ पुग्नु भएको  थियो । मन्त्री तामाङले पहिरोका कारण मृत्यु भएका परिवारलाई आफ्नो तर्फबाट व्यक्तिगत रूपमा प्रति परिवार १० हजारका दरले आर्थिक सहयोग समेत गर्नु भयो । उहाँले घाइतेको उपचार गर्न पनि आफूले सहयोग गर्ने बताउँदै बिस्तापितहरुलाई सुरक्षित स्थानमा स्थायी बसोबासका लागि आफूले प्रयास गर्ने बताउनु भयो ।
पहिरोका कारण लेखर्कका ५९ परिवार विस्थापित भएका छन्  । विस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरूमा राखिएको गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले जानकारी दिनुभयो । पहिरोका कारण   गाउँका सबै घरहरू जोखिममा भएकाले सिङ्गो बस्ती नै विस्थापित भएको हो । भीषण वर्षा पछि आएको बाढीका कारण लेखर्क नजिकैको अँधेरी खोलाको पक्की पुल समेत बगाएको छ । वर्षा र पहिरोले टोकरपुर र आसपासका क्षेत्रमा बाटो बगाउँदा एक गाउँबाट अर्को गाउँ जोड्ने सडकहरू समेत बन्द भएका छन् । पहिरोमा पुरिएर १ सय भन्दा बढी पशुहरू मरेको स्थानीयहरूले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.