सहकारी बचत रकम दुरुपयोग गर्नेमाथि समितिको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढ्छ: उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी बचत रकम दुरुपयोग भएको सम्बन्धमा प्रतिवेदनलाई आधार बनाएर कारबाही अघि बढाइने बताउनुभएको छ ।

बुधवार गणेशमान सिंहको २७ औँ पुण्य तिथिमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्मा प्रतिवेदन पेस गरिसकेको र सभामुख देवराज घिमिरेले पनि सरकारलाई समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसक्नुभएको भन्दै अब सोही प्रतिवेदनलाई आधार बनाएर सरकारले कारबाही सुरु गर्ने बताउनु भयो । उहाँले समितिले दिएको प्रतिवेदनको अध्ययन गरी मन्त्रीपरिषद्मा छलफल गरेर कारबाही प्रक्रिया अघि बढाइने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अस्ति हाम्रो संसद  बैठकमा विशेष छानबिन समितिले रिपोर्ट पेस गरेको छ । अब सभामुखले सरकारलाई कार्यान्वयनमा लैजानका लागि निर्देशन दिनुभएको छ । सरकारले रिपोर्टको अध्ययन गरेर, संसदीय समितिले रिपोर्ट दिएकाले त्यो सुझावलाई आधार मानेर मन्त्रीपरिषद्मा छलफल भएर चाँडै नै विधि र प्रक्रियाअनुसार अघि बढ्छ । संसदीय समितिले रिपोर्ट दिइसकेको छ, संसदले सरकारलाई निर्देशन दिइसकेको छ, अब यसलाई अघि बढाउनु भनेर । काम गर्ने भनेको सरकारले गर्दछ । सांसदले छानबिन गरेर सुझाव दिएको छ । सरकारले अध्ययनका लागि विधि र प्रक्रिया पूरा गरी अघि बढाउँछ ।’

सो अवसरमा उहाँले गणेशमान सिंहको प्रतिमामा माल्यार्पणसहित पुष्पगुच्छासमेत अर्पण गर्नुभयो । उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्न र त्यसपछि पनि प्रजातन्त्रको संरक्षणका लागि नेतृत्वदायी भूमिका गणेशमानले गर्नुभएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.