सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछौँः महामन्त्री थापा

शिक्षा ऐन छिटै टुंग्याउँछौँः महामन्त्री थापा

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्ने गरी तयारी भइरहेको बताउनुभएको छ ।

बुधवार काठमाडौँको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्ने गरी प्रस्ताव अघि बढाइएको बताउनु भयो । उहाँले शिक्षा ऐन दसैँ तिहार लगत्तै सुरु हुने संसद्को हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्ने गरी अघि बढ्ने तयारी रहेको बताउनु भयो । उहाँले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको पनि जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरूले दलगत हिसाबमा समूह बनाएर सहमतिले पारित गर्ने गरी अघि बढ्न आफूले सुझाव दिएको बताउनु भयो । उहाँले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउन सके छिटै शिक्षा विधेयक पारित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षा ऐनका प्रसङ्ग अघि उठ्यो । यहाँ आउनुपूर्वको बैठकमा त्यही विषयमा नै छलफल गरिरहेको हुनाले गर्दा त्यहीँबाट सुरु गर्न मन लाग्यो । आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ । त्यो कार्यक्रम बनाइरहेका छौँ । त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौँ भनेर त्यसमा लेख्दै छौँ । लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहिँ लेख्ने तर सांसदभित्रको काम हो । सरकारले चाहेर मात्रै हुँदैन । सांसदले सँगै काम गर्नुपर्छ । संसद्को छाँटकाँट हेर्दै गर्दा अर्को दुई अढाई वर्ष पारित नहुने अवस्था देखियो । त्यही भएर संसद्को समितिमा यो विषयमा आफ्ना धारणा राख्दा त्यहाँको सभापतिजीलाई विशेष अनुरोध गरेको कुरा मैले टिममा शेयर गरेको थिएँ । यो असरल्ल छरेर हुँदैन, कहिले कहीँ अलिकति सुझबुझ पुर्‍याउनुपर्छ । त्यसैले अहिले दलगत हिसाबमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जो छौँ, सबै दलको शिक्षामा काम गर्नुभएको सानो एउटा समूह बनाऔँ । त्यो समूहलाई दुई महिनाको समय दिएर दसैँ, तिहार केही नभनी काम गर्न लगाऔँ । त्यसबाट धेरै टुङ्गिने विषय टुङ्गिन्छ । दशैँतिहारको लगत्तै पछि संसद् सुरु भएपछि संसदीय समितिबाट प्रक्रियामा लैजाऔँ भन्ने प्रस्ताव राखेको छु । सम्माननीय प्रधानमन्त्रीसहित सबैले यही बाटो सही हुन्छ भन्नुभएको छ । केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउनेछौँ ।’

महामन्त्री थापाले केही समयभित्रै शिक्षा ऐनलाई टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.