राज्य कमजोर हुँदा रमाउनेहरूबाट समृद्धि सम्भव छैन: उद्योग मन्त्री भण्डारी

ललितपुर – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

शुक्रवार ललितपुर उद्योग वाणिज्य सङ्घको ४५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको नीतिमा प्रश्न भए छलफल र बहस गरेर समाधान गर्न तयार रहेको बताउनु भयो । उहाँले अहिले नेपालमा केही छैन र हुँदैन भन्ने भाष्य सिर्जना गरिरहेको भन्दै राज्यप्रति निराशा बाँड्न नहुने बताउनु भयो । उहाँले सरकार मेरो हो भन्ने भाव राखेर काम नगरेसम्म देश नबन्ने दाबी गर्नुभयो । उहाँले आर्थिक समृद्धिका लागि सफल हुनुपर्ने भन्दै राज्यलाई कमजोर देख्नेहरूबाट विकास सम्भव नरहेको बताउनु भयो ।

सरकारलाई बेठिक देख्ने, राज्य कमजोर हुँदा रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुन नसक्ने बताउनु भयो । तीन तहको सरकार बिचको सहकार्यबाट निजी क्षेत्रलाई प्रोत्साहित गर्न सरकारले काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले एउटा भाष्य के निर्माण भएको छ भने हामीसँग सम्भावना पनि छन् । सीमित छन् । सम्भावना हुँदाहुँदै पनि अन्तै सम्भावना देखिरहेका छौँ । र एउटा ट्रेन्ड नै के भएको छ भने नेपालमा खास गरी युवा जमातमा एउटा निराशा व्याप्त रहने, त्यो निराशा प्रोत्साहित गर्न अनेक खालका लाञ्छना लगाउने, सरकार र राज्यप्रति निराशा पैदा गर्ने, सरकार केही होइन, केही गरेन, सरकारले गर्न चाहेको छैन भन्ने खालको भाष्य निर्माण गरेर आज एउटा निराशा व्याप्त गर्ने र त्यो खालको अराजकता सिर्जना गर्ने गतिविधि भइरहेको छ ।

आखिर सरकार कसको हो ? राज्य कसको ? जब राज्य कमजोर हुन्छ, जब सरकार कमजोर हुन्छ, सरकार मेरो हो, राज्य मेरो हो, भन्ने भाव आउँदैन तबसम्म देश बन्दैन ।

आर्थिक समृद्धिका लागि पहिला राज्य सफल हुनुपर्दछ । सरकार सफल हुनुपर्दछ । यदि राज्यलाई कमजोर देख्ने, सरकारलाई कमजोर देख्ने, सरकार फलानाको, एमालेको, काँग्रेसको, माओवादीको भनेर हामीले भन्ने तर सरकार मेरो हो, सरकार नेपालको हो । नेपालको सरकार, राज्य जबसम्म बलियो हुँदैन, तबसम्म कुनै क्षेत्र बलियो हुँदैन भन्ने कुरा बुझ्न जरुरी म ठान्दछु । उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि हामी सरकारको नीतिमा समस्या छन् भने, सरकारको नीतिमा प्रश्न छन् भने आउनुस् छलफल, बहस गरौँ ।

सरकारका नीतिमा होलान् कमजोरी, त्यो सच्याउन हामी तयार छौँ । कहाँनेर निजी क्षेत्र निरुत्साहित भएको हो, त्यसमा बहस गरौँ । हामी सहकार्य गर्न तयार छौँ । अहिलेको जस्तो बलियो, दृढ सरकार कहिले पाउनु हुन्छ । नीतिमा सुधार गर्नुपर्छ भने पनि कहीँ समस्या छैन, सरकार तयार छ । आज सरकारलाई बेठिक देख्ने, राज्य कमजोर हुने अनि हामी रमाउने कुराले हाम्रो समृद्धिको यात्रा तय हुँदैन । आजको राज्यको संयन्त्र, तीन तहको सरकार बिचको सहकार्यबाट हामी निजी क्षेत्रलाई प्रोत्साहित गर्न चाहन्छौँ । निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छौँ ।’

उद्योग मन्त्री भण्डारीले उद्योग क्षेत्रमा रहेका समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले उद्योग क्षेत्रसँग सम्बन्धित, वस्तुगत सेवा, छाता संस्थाहरूसँग सम्बन्धित छलफल गरी मन्त्रालय सुधार कार्य योजना बनाइएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.