संसदीय समितिद्वारा भक्तपुर सल्लाघारीस्थित १०८ रोपनी जग्गाको निरीक्षण

भक्तपुर –  प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापा नेतृत्वको समितिले भक्तपुरका शैक्षिक संस्थाहरू र सल्लाघारीस्थित १०८ रोपनी जग्गाको स्थलगत निरीक्षण गरेको छ ।

भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनका लागि उक्त जग्गा माग गर्दै आएको सन्दर्भमा त्यसको वस्तुस्थिति बुझ्न समितिका सदस्यसहितको टोली आज भक्तपुर भ्रमणमा आएको हो । टोलीले १०८ रोपनी जग्गा र जग्गासँगको हनुमन्त्ते खोला कोरिडोरको निरीक्षण गरेको छ ।

निरीक्षणपश्चात् टोलीलाई भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले खादा र भादगाउँले टोपीले स्वागत गर्नुभयो । सो अवसरमा भक्तपुरलाई नजिकबाट नियाल्ने अवसर मिलेको भन्दै सभापति थापाले विश्वविद्यालय विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रस्तुत भए पछि समितिले आवश्यक छलफल गरी शीघ्र संसद्मा प्रस्तुत गर्ने बताउनुभयो ।

नगरपालिकाबाट सञ्चालित कलेजहरूमा काठमाडौँ उपत्यका बाहिरबाट अध्ययन गर्न आएका विद्यार्थीहरूलाई राम्रो सुविधा उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै उहाँले ख्वप विश्वविद्यालयले कम शुल्कमा एमबिबिएस अध्ययन गराउने विषयले सांसदहरूसमेत उत्साहित भएको धारणा राख्नु भयो ।

सो अवसरमा सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक सांसदबाट पारित गर्न र नेपाल ट्रस्टको नाममा रहेको सल्लाघारीको १०८ रोपनी जग्गा प्राप्तिको लागि भक्तपुर नगरपालिकाले यसअघि पनि धेरै पटक ताकेता गरिसकेको स्मरण गराउनुभयो । १०८ रोपनी जग्गा स्थानीय जनताकै जग्गा भएको भन्दै उहाँले देशभरिका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय उच्च शिक्षा हासिल गर्ने अवसर मिल्ने धारणा राख्नु भयो ।

सल्लाघारीस्थित उक्त जग्गाको संरक्षणको अभावमा हनुमन्त्ते खोलाबाट कटान र अतिक्रमणको कारण जग्गाको क्षेत्रफल समेत घटेको तथा उक्त जग्गाको संरक्षण, सम्बद्र्धन र सदुपयोग हुन नसक्दा यसको विभिन्न पक्षबाट दुरुपयोगको सम्भावना समेत बढेको हुँदा भक्तपुर नपाले नेपाल ट्रस्टको सहमतिमा नगरपालिकाको खर्चमा उक्त जग्गाको चारैतर्फ पर्खाल निर्माण र ५ वटा गेटको व्यवस्था गरी संरक्षण गर्दै आइरहेको छ ।

वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्ति, विभिन्न विषयमा पी.एच.डी.सम्म छात्रवृत्ति, शैक्षिक ऋणको व्यवस्था, वडा वडामा शिशु स्याहार सञ्चालन, नगर स्तरीय र वडा वडामा स्तरीय पुस्तकालय व्यवस्था गर्दै आएको नगरप्रमुख सुनिल प्रजापतिले समितिलाई अवगत गराउनु भयो ।

कम शुल्कमा चिकित्सा शिक्षा प्रदान गर्ने उद्देश्यका साथ चिकित्सा शास्त्र अध्ययन संस्थानसहित ख्वप विश्वविद्यालय स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई पटक पटक ताकेता गर्दै आएको भन्दै उहाँले नापाबाट सञ्चालित शैक्षिक संस्थाहरूबाट देशका ७७ वटै जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्ने अवसर प्राप्त गरिसकेको जानकारी दिनुभयो ।

सो अवसरमा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले भक्तपुर नपाले शिक्षामा गरेको कामको प्रशंसा गर्नुभयो । ७५३ वटै स्थानीय तहको लागि नमुना बन्नेमा आफू आशावादी रहेको पौडेलको भनाइ छ । ख्वप विश्वविद्यालय स्थापनाको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा संसदीय समितिले भक्तपुर नापाबाट सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको पनि स्थलगत अवलोकन गर्‍यो ।

निरीक्षणमा सभापति अम्मरबहादुर थापासहित पूर्व मन्त्री देवेन्द्र पौडेल, सांसद उर्मिला थेबे, रामप्रकाश चौधरी, लिला देवी जोखिम, विनीताकुमारी सिंह, ज्ञानुदेवी सुवेदी, समिति सचिव दशरथ धमला, उपसचिव पुष्पप्रकाश खनाल र शाखा अधिकृत यमुना सुवेदीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.