‘छुटेका स्थानीय तहको पुनःस्थापना र पुनःनिर्माणको काम अगाडि बढाइनेछ’
ललितपुर- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढिपहिरोबाट प्रभावित भएका तर विपद सङ्कटग्रस्त क्षेत्र घोषणा हुन बाँकी स्थानीय तहलाई छिट्टै राहत सामग्री वितरण, पुनःस्थापना र पुनःनिर्माणका काम अगाडि बढाइने बताउनुभएको छ ।
आज ललितपुर महानगरपालिका–७, ८, ९ र १७ का साथै महालक्ष्मी नगरपालिका–९ लामाटार र १० लाँकुरीभञ्ज्याङ, मानेदोवान क्षेत्रमा बाढिपहिरोले पु¥याएको क्षतिको निरीक्षण गर्नुहुँदै उहाँले प्रदेश सरकारले छुटेका ठाउँलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर आवश्यक काम अगाडि बढाउने बताउनुभयो । क्षतिको मूल्याङ्कन गरेर विपदग्रस्त क्षेत्र घोषणा गरिने मुख्यमन्त्री लामाको भनाइ थियो । “यसअघि केन्द्रीय सरकारले पठाएको विवरणका आधारमा तत्कालै विपद्ग्रस्त घोषणा गरिएको छ, काठमाडौँको दक्षिणकाली र ललितपुरको महालक्ष्मी नगरपालिकालगायत आठ वटा पालिका छुट्न गएकाले स्थलगत निरीक्षण गरेर मूल्याङ्कनका आधारमा छुट भएका स्थानीय तहलाई विपदग्रस्त घोषणा गरी राहत सहयोग, पुनःस्थापना र पुनःनिर्माणको कामलाई अगाडि बढाइनेछ”, उहाँले भन्नुभयो ।
निरीक्षणका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य उर्मिला केसी, ललितपुर क्षेत्र नं २ ९ख० बाट निर्वाचित प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोबिन्दप्रसाद लम्साल, नेपाली कांग्रेसका ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्कालगायतका उपस्थिति रहेको थियो ।
यसैबीच महालक्ष्मी नगरपालिका–९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले वडाभित्र भएको क्षति, राहत, पुनःस्थापना र पुनःनिर्माणका क्षेत्रमा गर्नुपर्ने कामको विवरण र आवश्यक बजेटको माग गर्दै मुख्मन्त्रीलाई ज्ञापनपत्र बुझाउनुुभएको थियोे । यस्तै, वडा नं १० का अध्यक्ष विजय लामाले पनि वडाभित्र भएको क्षति, राहत सहयोग, पुनःस्थापना र पुनःनिर्माणका क्षेत्रमा गर्नुपर्ने कामहरूका लागि ज्ञापनपत्र पेस गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्