देशभरका बिष्णु मन्दिरहरुमा भक्तजनको घुइँचो (फोटो फिचर)

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाउने गरिन्छ ।

हरिबोधिनी एकादशीका अवसरमा मङ्गलबार बिहान बुढानिलकण्ठ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनको घुइँचो ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ ।

हरिबोधनी एकादशीको अवसरमा बागलुङ नगरपालिका–४ निरयघाटस्थित कालीगण्डकी नदीमा स्नान गर्दै भक्तजन ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ ।

हरिबोधिनी एकादशीको अवसरमा धार्मिक पूजा अर्चनाको तोरण तार्न फूलको झाँकी लिएर पोखराको रामघाटतर्फ जादै भक्तजनहरू ।

यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । आज देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइएको छ।

हरिबोधिनी एकादशी पर्वको अवसरमा मङ्गलबार नुवाकोटको विदुर नगरपालिका–५ स्थित प्रसिद्ध जालपादेवी मन्दिर देवीघाटमा लागेको मेलामा फूलको तोरण बन्धन गर्दै ।
काभ्रे मुलखर्क भिमसेनस्थानमा एकादशी मेला।
धादिङको गंगाजमुना गाउँपालिकामा एकादशी मेला ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.