नेपालको पर्यटक यातायात व्यवसायको चुनौती र समाधान !

काठमाडौँ –  नेपाल प्रकृतिको अपार सुन्दरताले भरिएको देश हो । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा अद्धितीय सांस्कृतिक सम्पदायुक्त मुलुक विश्व पर्यटनको आकर्षक गन्तव्य बनिरहेको छ । सर्वोच्च शिखर सगरमाथासहितका उच्च हिमश्रृङखला, हरिया डाडाकाडा, ताल तलाउ, नदिनाला यहाँको पर्यटक लोभ्याउने आधार हुन् । अपार सुन्दरता भित्र रमाउन आउने विदेशी पाहुनाहरूको गतिविधिले नै परिचय बनाएको क्षेत्र हो पर्यटन व्यवसाय । पर्यटन क्षेत्र भित्र हुने अनेकौँ व्यवसायी गतिविधिहरू मध्येको एक पर्यटक यातायात व्यवसाय हो । पर्यटनसँग जोडिएको महत्वपूर्ण पाटो पनि पर्यटक यातायात क्षेत्र हो ।

विदेशी नागरिक नेपाल ओर्लिएपछि पहिलो साक्षात्कार हुने पर्यटक यातायात नै हो । अर्थात् विदेशी पर्यटक विमानस्थलमा ओलिएपछि पर्यटक यातायात नै मुख्य सारथी हो गन्तव्य पुग्नलाई । पर्यटक यातायातको सहायतालाई नेपालका गन्तव्य घुम्न तथा आफ्नो काम फत्ते गर्न अन्य धेरै विकल्प हुदैन । हवाई यातायात भएपनि सबै स्थानमा यो सहज छैन । त्यसैले पर्यटकलाई गन्तव्यमा पुर्याउने महत्वपूर्ण साधान पर्यटक यातायात नै हो । यसले पनि नेपालको पर्यटन विकासमा पर्यटक यातायात क्षेत्रको कति महत्व छ भन्ने कुराको फेहरिस्त बनाइरहनुपर्दैन ।

पर्यटक यातायात व्यवसायको सुरुवातको यकिन तिथीमिति नभए पनि विभिन्न रूपमा सञ्चालनमा आएको लामो समयअबधी छ । यद्यपित, पर्यटक यातायातको नीतिगत तथा कानुनीरुपमा पहिचान कायम गर्दै २०६७ सालमा पर्यटक यातायात सेवा व्यवसाय दर्ता तथा सञ्चालन कार्यविधि–२०६८ कार्यान्वयनमा आयपछि बास्तबिकरुपमा व्यवसायको आफ्नै पहिचान स्थापित हुन पुगेको हो ।

आजको दिन सम्म आई पुग्दा यो व्यवसाय सङ्घीय पर्यटन ऐनमा संग्रहित हुन नसके पनि बागमति प्रदेश पर्यटन २०७८ मार्फत व्यवसायको उपस्थिति मजबुत बनिसकेको छ । सानो सङ्ख्यामा आउने पर्यटक र तिनीहरूको लागि सञ्चालन गरिने सवारी साधनको सङ्ख्या न्यून रहेको विगतलाई बिर्साउँदै हालका दिनहरूमा गुणस्तरीय र सुविधा सम्पन्न डिलक्स सवारी साधनको खरिद मार्फत पर्यटन यातायात क्षेत्रमा अर्वौ लगानी भई रहेको छ ।

समग्र पर्यटन क्षेत्रमा लगानीको दृष्टिकोणले हेर्दा होटेल र हवाई क्षेत्र पश्चात् पर्यटक यातायात नै सबै भन्दा बढी लगानी रहेको क्षेत्र हो । हालको दिनमा पर्यटक यातायात क्षेत्रमा करिब चार हजार भन्दा बढी सवारी साधनहरू सञ्चालन र आठ हजार भन्दा धेरै श्रमिकहरू आश्रित छन् । आफ्नो व्यवसायको बिक्री बापत मुल्य अभिबृघ्दि कर भुक्तानी गरी राज्यको राजश्व सङ्कलनमा विशेष योगदान दिने यो क्षेत्रलाई व्यवस्थित र लगानी मैत्री बनाउन राज्यले ध्यान दिन सकेको छैन ।

पर्यटन क्षेत्रमा सञ्चालन गर्ने गरी खरिद गरिने सवारी साधनमा अन्त शुल्क, भ्याट लगायत राज्यले लगाउने करिब २ सय ४७% प्रतिशत कर भुक्तानी गर्नुपर्दछ जसको कारण छिमेकी मुलुकमा ३० लाख पर्ने सवारी साधन नेपाल सम्म ल्याउँदा एक करोड भन्दा माथि पुग्छ । हाल सम्म पनि राज्यले अपनत्व ग्रहण गर्न नसकेको तर विविध शीर्षकको करले थिचिएको पर्यटक यातायात क्षेत्रमा लगानीको जोखिम बढ्दै गएको छ ।

नीतिगत कानुनको अभाव, जीर्ण सडक, दक्ष चालक तथा सहचालकको अभाव, महँगो इन्धन, महँगो भन्सार शुल्क, सवारी साधनको मर्मत सम्भारमा आफूखुसी मूल्य तोक्ने परिपाटी, सरकारद्वारा सवारी साधनको निश्चित भाडा दर कायम नगर्नु, दुर्घटना पश्चात् बिमा कम्पनीले गर्ने भुक्तानीमा समेत न्यून मुल्याङकन कायम गर्ने जस्तो यावत समस्याको कारण पर्यटन यातायात क्षेत्र व्यवसायी मैत्री हुन सकेको छैन ।

नेपाल सरकारले सन २०२५ बाट नेपालको पर्यटन दशक को सुरुवात गर्दै गर्दा पर्यटनको मेरुदण्ड बनेको पर्यटक यातायात क्षेत्रमा देखिएका समस्यालाई निराकरण गर्दै व्यवस्थित र झन्झट मुक्त क्षेत्र बनाउँदै लैजानु पर्दछ । आन्तरिक तथा बाह्य पर्यटकको लागि सुरक्षित सेवाको रूपमा पहिचान स्थापित गरेको पर्यटक यातायात व्यवसायलाई जीवन्तता प्रदान गर्न लगानी मैत्री वातावरण, व्यवसायको सुरक्षा प्रत्याभूति, दक्ष चालक तथा सहचालकहरूलाई बिदेसिन बाट जोगाउने नीतिको निर्माण, अनावश्यक रूपमा थोपरिएको करका शीर्षकहरूको अन्त्य, सरकारी सेवा प्रवाहमा एक द्वार नीति, कर्जा प्रवाहमा गरिने चर्को ब्याजदरको नियन्त्रण, सवारी साधनको बिमा नीतिमा परिवर्तन लगायतका कार्यहरू गरी समस्याको समाधान गर्नुपर्दछ । पर्यटक यातायातलाई दिगो व्यवस्थित र प्रभावकारी बनाएर पर्यटकमैत्री सेवा प्रवाहमा लाग्न सकेको खण्डमा नेपालको आतिथ्यताको पहिचान विश्वभर फैलाउन सकिन्छ ।

(लेखक नेपाल पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.