नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छ : संयोजक घिमिरे

काठमाडौँ-  अमेरिकाबाट फर्किएर पुख्र्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु गरेका पर्यटन व्यवसायी वासुदेव घिमिरेको सपना छ, आफूजस्ता धेरै नेपालीको पुँजी, सीप र ज्ञान स्वदेश भित्र्याउने । तर, यो सपना यथार्थमा परिणत गर्न कम चुनौती छैन । किनकि निकै पेचिलो बनिरहेको नागरिकताको विषयले घिमिरेलाई चिन्तित तुल्याएको छ ।

नेपालमा पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नुभएका गैरआवासीय नेपाली नागरिक घिमिरेलाई यहाँ बस्ने स्थायी भिसा छैन, त्यसैले उहाँ नेपाल–अमेरिका आउजाउ गरिरहनुहुन्छ । नेपाली नागरिकको हैसियत पाए आफू जस्ता धेरै नेपालीले यहाँ लगानीको बहार ल्याउने उहाँको दाबी छ । वंशजको नेपाली नागरिकताको निरन्तरता हुन सके वासुजस्ता लाखौँ नेपाली स्वदेश फर्किएर आफूसँगै पुँजी र सीप लिएर आउने घिमिरेको जिकिर छ ।

विदेशमा जुनसुकै पेसा–व्यवसाय गरेको भए पनि ६० वर्ष उमेरहद नाघेपछि उसले राज्यबाट ‘पेन्सन’ पाउने व्यवस्था हुन्छ । यदि विदेशिएका नेपालीहरुको वंशजका नागरिकताले निरन्तरता पाउने हो भने उनीहरुसँगै सीप, ज्ञान र अर्बौं रुपैयाँ नेपाल भित्रने ‘नागरिकता खोइ रु’ अभियानका संयोजक वासु घिमिरे बताउनुहुन्छ । यसरी वंशजको नागरिकता दिँदा राज्यलाई कुनै घाटा नहुने उहाँको तर्क छ ।

“एनआरएन नागरिकताले गैरआवासीय नेपालीहरुको नेपालमा लगानी भित्र्याउन सकेन । त्यसैले वंशजको नागरिकताको आवश्यकता महसुस भएको हो”, संयोजक घिमिरेले भन्नुभयो, “अब विदेशमा सिकेको सीप, ज्ञान र पुँजीलाई नेपालमा लगानी बढाउनुपर्छ भनेर पाँच महिनादेखि पैरवी गरिरहेका छौँ ।”

वंशजका आधारमा एनआरएनलाई नेपाली नागरिकताको निरन्तरता भएको खण्डमा विश्वभरिबाट पाँच लाख नेपाली भित्रिने र यसबाट अर्बौं रुपैयाँ नेपाल भित्रिने उहाँको दाबी छ । यो अभियानबारे नेपालका प्रमुख राजनीतिक दलहरुसँग पनि ‘लबिङ’ गरिएको संयोजक घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.