विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह

नुवाकोट- नुवाकोटका विभिन्न स्थानमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह मनाइएको छ । विद्यार्थीहरूलाई स्वास्थ्य सचेतना प्रदान गर्दै सो कार्यक्रम विद्यालयमै पुगेर मनाइएको हो ।
विदुर नगरपालिका, लिखु गाउँपालिकालगायत विभिन्न स्थानीय तहमा रहेका विद्यालयहरूमा सो कार्यक्रम स्वास्थ्य सचेतनामूलक रूपमा मनाइएको हो । विदुर नपा स्वास्थ्य शाखा तथा विदुर नपाको भूगोल भित्र रहेका स्वास्थ्य संस्था, ११ वटा विद्यालयका विद्यालय नर्सहरूद्वारा एक सातासम्म विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह सञ्चालन गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरूलाई पोषण सम्बन्धी अभिमुखीकरण, पोषण सामग्री प्रदर्शनी, सरसफाइ, विद्यालय अध्ययनरत छात्रछात्राहरूलाई जुकाको औषधि वितरण, पोषण सम्बन्धी हाजिरी जवाफ प्रतियोगिताका साथै सरसफाइ सामग्री वितरण गरिएको जनस्वास्थ्य निरीक्षक राम राजा भण्डारीले जानकारी दिनुभयो । उता, लिखु गा पाको महेन्द्र महेशदेव मावि र बच्छला माविमा विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह विभिन्न कार्यक्रम मनाइएको छ ।
सो कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई स्वास्थ्य, सरसफाइ र पोषणसम्बन्धी सचेतनामूलक जानकारी दिइएको थियो । साथै, बालबालिकालाई जुकाको औषधि वितरण पनि गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्यकमीहरुले विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुभएको थियो । डिजिटल माध्यमबाट पनि स्वास्थ्यसम्बन्धी कार्यक्रम गरिएको थियो भने दुवै विद्यालयका विद्यार्थी, शिक्षक र स्वास्थ्यकर्मीहरू कार्यक्रममा सहभागी भएका थिए ।






प्रतिक्रिया राख्नुहोस्