किसानलाई आम्दानीको स्रोत बन्यो बागमती बगरको तरबुजा खेती

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा पर्ने बागमती बगर यति बेला आम्दानीको स्रोत बनेको छ । बागमती नदीले बगर बनाएको सिन्धुलीको हरिहरपुरगढी २ जखौलीको बगरमा किसानहरूले गर्मि मौसममा उत्पादन हुने तरबुजा उत्पादन गरी बिक्री गर्न थालेपछि बगर आम्दानी गर्ने थलो भएको हो ।
जागरण कृषि समूहमा आबद्ध भएर उक्त स्थानका ९ जना भन्दा बढी कृषकले सार्वजनिक बगरमा तरबुजा लगाएर हरियाली मात्रै बनाएका छैनन् आम्दानीको दरिलो स्रोत भएको छ तरबुजा खेती । मिहिनेत गरे बगरमै सुन फलाउन सकिन्छ भन्ने नेपाली उखान झैँ त्यस क्षेत्रका किसानले बगरबाटै राम्रो आम्दानी लिन थालेका छन् । खोलाको कटानले कृषि जग्गा घट्दै गए पनि कृषि उत्पादनलाई घट्न नदिनका लागि गाउँपालिकाको प्राविधिक सहयोगमा बगरमै खेती गरी आम्दानी गर्न सकिने गरी प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराएको छ । चार वर्ष देखि निरन्तर बगरमा तरबुजा उत्पादन गरेर किसानहरूले आम्दानी लिएका छन् । मकै धान कोदो जस्ता बाली लगाउनु भन्दा तरबुजा लगाउँदा फाइदा भएकाले बगरमै सामूहिक तरबुजा खेती गरी आम्दानी लिन थालिएको किसानहरूले जनाएका छन् । किसानहरूले करिब पाँच बिगाहा क्षेत्रफलमा तरबुजा लगाएका छन् । तरबुजा खेतीबाट आफूहरू सन्तुष्ट रहेको किसान सुक देव राईले बताउनु भयो । मकै कोदो गहुँ जस्ता बाली लगाउनु भन्दा बागमतीको सार्वजनिक बगरमा तरबुजा लगाउन निकै फाइदा छ, उहाँले भन्नुभयो, हामीले उत्पादन गरेको तरबुजा काठमाण्डौँका बजारमा समेत प्रशस्त पुगेको छ ।
चार बिगाहा क्षेत्रफल बगरमा तरबुजा कृषक समूहले फलाएपछि बजारीकरण गर्नका लागि गाउँपालिकाले समन्वय गरिदिएको छ । झन्डै पचास हजार केजी तरबुजा बिक्री वितरण भएको किसानहरूले जनाएका छन् । तरबुजाको सिजन अन्त्य हुनै लाग्दा समेत हरिहरपुरगढीको तरबुजाको माग बढी रहेको र आगामी दिनमा थप खेती विस्तार गरी किसानको जीवनस्तर उकास्न सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । बागमती बगरमा मात्रै नभएर सिन्धुलीको मरिण गाउँपालिकाले मरिणको बगरमा समेत बगर खेती सुरु गरेको छ । तरबुजा खेतीबाट किसानले राम्रो आम्दानी लिएको र तरबुजा मात्रै नभएर कृषिका अन्य उत्पादनमा समेत गाउँपालिकाले समन्वय र सहयोग गरी खेती विस्तारमा अघि बढेको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्र ध्वज वाई वाले जानकारी दिनुभयो । तरबुजाको उत्पादन राम्रो भएको छ । यसलाई थप विस्तार गर्नुका साथै हामीले कृषिका अन्य कार्यक्रम पनि व्यावसायिक रूपमा खेती विस्तार गर्ने र किसानको आम्दानीको स्रोत बढाउने कार्यमा लागेका छौ, उहाँले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्