कम्पनी रजिष्ट्रारको कार्यालयका ३१ कर्मचारीको एकैपटक सरुवा

काठमाडौँ – कम्पनी दर्ता र अद्यावधिक गर्न जाने सेवाग्राहीहरूलाई एक वर्षदेखि सताएको भनी व्यापक गुनासो आएपछि सरकारले कम्पनी रजिष्ट्रारको कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ ।

स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगर्ने बिचौलियाबाट आउने फाइल मात्र सदर गरी ती कर्मचारीले सेवाग्राहीलाई सताएका थिए ।

सेवाग्राही सताएको गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार कम्प्युटर निर्देशकसहित कर्मचारीलाई सरुवा गरेको हो । शाखा अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर तथा कार्यालय सहयोगीसहित ३१ जना कर्मचारीलाई अन्यत्र निकायमा कामकाज गर्न खटाइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको गत असार २७ गतेको निर्णयअनुसार सहसचिवको नेतृत्वमा गठित छानबिन तथा कारबाही सिफारिस समितिको प्रतिवेदनका आधारमा उक्त निर्णय गरिएको हो ।

सेवाग्राहीको रुवाबासी मिडियामा आउँदासम्म पनि बेवास्ता गर्ने कम्पनी रजिष्ट्रारलाई के कार्बाही भयो भन्नेबारे भने मन्त्रालयले केही उल्लेख गरेको छैन ।

कानूनमा सेवाग्राहीलाई क्षतिपूर्तिको व्यवस्था भएपनि बदनियतपूर्वक सेवाग्राहीलाई महिनौँसम्म झुलाएर दुख दिने कर्मचारीहरूलाई बिना कार्बाही सरुवा गरेको भनी पीडित सेवाग्राहीले अर्को गुनासो गरेका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.