स्वास्थ्य क्षेत्र प्रदेश सरकारको पहिलो प्राथमिकता ः मुख्यमन्त्री बानियाँ

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभएको छ । बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालको अवस्था र भावी रणनीतिसम्बन्धी अन्तरक्रियामा बोल्दै उहाँले अन्य विकास निर्माणका योजनाहरू केही समय रोक्नुपरेपनि स्वास्थ्यसँग सम्बन्धित कार्यलाई कहिल्यै नरोक्ने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको भन्दै त्यसका लागि आवश्यक बजेट तथा स्रोतको कमी हुन नदिने उहाँको भनाइ थियो । “पैसाको अभावका कारणले प्रतिष्ठानको कुनै पनि काम रोकिँदैन, तपाईंहरू ढुक्क हुनुहोस्,” मुख्यमन्त्री बानियाँले भन्नुभयो, “यो प्रदेशको गौरवको आयोजना हो, यसलाई द्रुत गतिमा अघि बढाउन सरकार पूर्ण प्रतिबद्ध छ।”
मुख्यमन्त्री बानियाँले नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा प्रदेश सभाबाट सर्वसम्मत रुपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा कुनै पनि प्रकारको राजनीतिक गर्न नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेशकै गौरवको योजनाका रुपमा रहेको प्रतिष्ठानलाई द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका विभिन्न शैक्षिक कार्यक्रमहरू विभिन्न स्थानमा छरिएर सञ्चालन हुँदा व्यवस्थापनमा कठिनाइ भएको भन्दै मुख्यमन्त्री बानियाँले एकै छानामुनि, एकीकृत भवनबाट सञ्चालन गर्न आग्रह गर्नुभयो । यसका लागि आवश्यक भौतिक संरचना निर्माणमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रतिष्ठानका कुलपति समेत रहनुभएका मुख्यमन्त्री बानियाँले स्वीकृत भएको २ सय शैयाको अस्पताल सञ्चालनका लागि आवश्यक तयारी तत्काल सुरु गर्न समेत निर्देशन दिनुभयो । निर्माणाधीन बेसिक साइन्स भवनको काममा भएको ढिलासुस्तीप्रति चासो व्यक्त गर्दै उहाँले तोकिएको समयमा र सम्झौता अनुसार काम नगर्ने निर्माण कम्पनीलाई कानून अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिनुभयो ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिएर कुनै पनि राजनीतिक विवाद नरहेको दाबी गर्नुभयो । उहाँले प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम ल्याउनका लागि सबैको सामूहिक प्रयास अतुलनीय रहेको बताउनुभयो । उहाँले बहानाबाजी गरेर प्रतिष्ठानको साख गिराउने कार्य कसैले पनि नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।
यसैगरी उपकुलपति डा. प्रदीपराज ज्ञवालीले २५ वर्षे विकास योजना, मेडिकल विश्वविद्यालय स्थापना, नियमावली संशोधन, सेवा आयोग गठन, र अस्पतालको जग्गा संरक्षणलगायतका अल्पकालीन तथा दीर्घकालीन योजनाबारे जानकारी दिनुभयो । हाल प्रतिष्ठानमा बी.फार्मेसी, ल्याब मेडिसिन, बीपीएच, र बीएस्सी नर्सिङ गरी ३ सय ५८ जना विद्यार्थी अध्ययनरत छन् भने यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा आयोगबाट ५० सिटसहित एमबिबिएस कार्यक्रम थप गरिएको छ । प्रतिष्ठानमा एमडी तहमा ७ विभिन्न विषयमा ८ जना विद्यार्थी अध्ययनरत छन् ।
मुख्यमन्त्री बानियाँले प्रतिष्ठान अन्तर्गत सञ्चालित हेटौंडा अस्पतालको अवलोकन पनि गर्नुभएको छ । प्रयोगशाला (ल्याब), निर्माणाधीन मोड्युलर अपरेसन कक्ष, निर्माणाधीन नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू), एमडी कार्यक्रम सञ्चालन भइरहेका कक्षाकोठा तथा अन्तिम चरणमा पुगेको २ सय शैयाको नयाँ भवन निरीक्षण गर्नुभएको थियो । मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको लगानीमा अध्ययनरत एमडी चिकित्सकहरूलाई अध्ययन पश्चात् प्रदेशकै विभिन्न अस्पतालहरूमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले गरेको लगानीको प्रतिफल प्रदेशले नै पाउनुपर्ने उहाँले बताउनुभयो । हाल प्रतिष्ठानले प्रदेश सरकारको लगानीमा सात विषयमा आठ जना एमडी चिकित्सकलाई अध्ययन गराइरहेको छ । साथै उहाँले अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशनसमेत दिनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईंले अस्पतालको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो । हाल हेटौंडा अस्पतालले दैनिक बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ ।






प्रतिक्रिया राख्नुहोस्