पर्यटकीय गन्तव्य बन्दै ढोल्ठान राजदरबार क्षेत्र (फोटोफिचर)

म्याग्दी– नेपालमा तत्कालीन बाइसे र चौबीसे राज्यहरू कायम रहेको समयमा ऐतिहासिक पर्वत राज्यको राजधानी समेत रहेको हालको ढोलठान दरबार क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । ढोलठान दरबार क्षेत्रमा भौतिक संरचनाको विस्तार गरिएसँगै यहाँ पर्यटकहरूको चहलपहल बढेको हो ।
म्याग्दीको बेनी नगरपालिका–९, घतानस्थित ढोलठान गाउँमा एउटा ऐतिहासिक दरबार छ । समुन्द्री सतहदेखि १९ सय मिटरको उचाइमा पर्ने ढोलठान दरबारमा अहिले पर्यटकहरू पुग्ने गरेका छन् । पर्यटकलक्षित संरचनाहरू निर्माण भएपछि शनिवार तथा बिदाको समयमा ढोलठान दरबार क्षेत्रमा म्याग्दीको विभिन्न ठाउँ र अन्य ठाउँबाट समेत आन्तरिक पर्यटकहरू आउन गरेको स्थानीयवासी भेषबहादुर सेनले बताउनुभयो ।
स्थानीयवासीले दिएको जानकारी अनुसार अहिलेको बेनी नगरपालिका–५, पुलाचौरको गाजने गाउँभन्दा माथि डढेकोट भन्ने स्थानमा तत्कालीन पर्वत राज्यका राजा दिलिपबम मल्ल (डिम्ब)को दरबार थियो । दरबार रहेको डढेकोत क्षेत्रमा तत्कालीन समयमा त्यो दरबारमा भीषण बज्रपात परेर आगलागीबाट दरबार जलेर नष्ट भयो । लगत्तै राजा डिम्ब ढोल्ठानमा झरेर दरबार बनाएपछि त्यहीँ बसाई सारेका थिए । ढोलठानबाटै पर्वत राज्यको राज्य सञ्चालन गरेको हुँदा त्यस बेला ढोलठानलाई मुख्य र म्याग्दीको बेनीलाई सह–राजधानी मानिएको जनविश्वास छ ।
पर्वत राज्यको राजधानी रहेको ढोलठानमा बस्दा राजा डिम्ब जाडोको समयमा हालको म्याग्दी सदरमुकाम बेनीबजार र गर्मीयाममा ढोल्ठानमै बस्ने गरेको इतिहास समेत रहेको पाइन्छ । यही सन्दर्भलाई समेटेर पहिलेको समयमा बुढापाकाहरूले, ‘कहिले राजा ढोलीठाना, कहिले राजा बेनी’ भनेर गीत समेत गाएका थिए । ढोलठान दरबार क्षेत्रमा अहिले कोत मन्दिर भएको ठाउँमा राजाको दरबार तथा त्यसको नजिकै काजी (मन्त्री)को दरबारका अवशेषहरू समेत आजपर्यन्त भेटिन्छन् । कोत मन्दिर र काजीको दरबार रहेको ठाउँमा स्थानीयवासीले धर्मशाला बनाएका छन् । दरबार नजिकै विद्यालय रहेको ठाउँमा राजाले हाँस पाल्ने पोखरी पनि रहेको छ ।
ढोलठान गाउँको शिरमा अवस्थित दरबार रहेको ठाउँबाट उत्तर–पूर्व फर्किएर हेर्दा धौलागिरि, अन्नपूर्ण, निलगिरी, मानापाथी, माछापुच्छे«लगायत हिमालहरु हाँसिरहेका देखिन्छन् । यसका साथै उच्च स्थानमा भएकाले वरपरको दृश्यहरुलाई धित मरुन्जेल नियाल्न पाइन्छ । यसैका कारणले गर्दा शत्रु वा विरोधीसँग लँडाइ गर्न सहज हुने भएकाले पनि ढोलठान क्षेत्रलाई तत्कालीन राजाले मन पराएको ठाउँको रूपमा चित्रण गरिएको छ । यस ठाउँमा अहिले दरबारका केही अवशेषहरू मात्रै पाइन्छन् । दरबार जीर्ण बन्दै जान थालेपछि त्यहाँ रहेका काठ तथा फर्निचरहरू पनि चोरी हुँदै गएको स्थानीयवासी सेनले बताउनुभयो ।
नेपालमा तत्कालीन बाइसे–चौबीसे राज्यहरूमध्ये ऐतिहासिक पर्वत राज्य निकै शक्तिशाली मानिन्थ्यो । विशाल नेपाल एकीकरणका मुख्य अभियानकर्ता राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपालमा रहेका स–साना राज्यको एकीकरण सुरु गरेको समयमा पर्वत राज्यमा आक्रमण गर्ने क्रममा उनका फौजहरू पर्वतको लडाइमा नराम्रोसँग हारेपछि अन्यत्र राज्य जिते पनि पर्वत राज्यमा उनले हार बेहोर्नुपरेको इतिहास अहिले पनि पढ्न पाइन्छ । ढोलठान दरबारको इतिहास बेच्न सकेमा थुप्रै सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउन सक्ने भएकाले यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले बताउनुभयो ।
ढोलठान राजदरबारको डिलबाट धौलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे्का साथै मनोरम हिमशृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ । यसै गरी म्याग्दीको साबिक १६ वटा गाविसहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस ठाउँबाट छिमेकी जिल्ला पर्वतको मल्लाज, सालिजा, धाईरिङ, लेखफाँट, बाँसखर्क, पाङ तथा बागलुङ जिल्लाको धार्मिक क्षेत्र पञ्च कोट लगायतका स्थान र ग्रामीण बस्तीहरूको लेकाली सौन्दर्ययता पनि देखिन्छन् । वडा कार्यालयले करिब पाँच करोड रुपैयाँको डिपिआर समेत बनाएको हुँदा उक्त डिपिआर अनुसार तत्कालीन समयमा रहेका संरचनालाई पुरानै स्वरूप झल्किने गरी आवश्यक भौतिक संरचनाहरू निर्माण गरी पर्यटक भिœयाउने लक्ष्य रहेको बेनी नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष चक्रबहादुर केसीले जानकारी दिनुभयो ।
ढोलठान दरबार क्षेत्रको अवलोकन गर्न जाने पर्यटकहरूलाई लक्षित गरेर बेनी नगरपालिका, गण्डकी प्रदेश सरकारको उद्योग वन तथा पर्यटन मन्त्रालयबाट प्रवेशद्वार तथा पदमार्ग, वडा कार्यालयबाट प्रतीक्षालय र खानेपानी, डिभिजन वन कार्यालय म्याग्दीबाट शौचालय, हरियाली पार्क र कोत मन्दिरको मर्मत सम्भार एवं डाडाँखेत–राहुघाट सवस्टेशनले मन्दिर मर्मत र जिल्ला भू–संरक्षण कार्यालयबाट पर्खाल निर्माणसहित विभिन्न संघसंस्थाहरुले पर्यटकीय स्थल चिनाउनका लागि आवश्यक सहयोग गरेका छन् ।
ऐतिहासिक ढोलठान दरबार क्षेत्रको अध्ययन तथा अवलोकन गर्नका लागि म्याग्दीको सदरमुकाम बेनीबजारबाट बेनी–अर्थुङ्ग–गुफा–राममन्दिर–कपिलाश्रम–पौलस्त्य–पुलहाश्रम–बरनाथ–गुफा–घतानकोत भएर ढोलठानसम्म पदयात्रा गरेर पुगिन्छ । त्यस्तै बेनी–अर्थुङ्गे–पुलाचौर–नयाँगाउँ तथा बेनी–अर्थुङ्गे–तोरीपानी–डाबा–धुपीबोट भएर पनि ढोलठान दरबार क्षेत्रमा पदयात्रा तथा सवारीसाधनमार्फत पुगेर रमाउन सकिन्छ ।











प्रतिक्रिया राख्नुहोस्