हेटौंडा–६ स्थित सीटीईभीटी परीक्षा केन्द्रमा पुरानो प्रश्नपत्र वितरण, परीक्षा रद्द भएपछि विद्यार्थी आन्दोलित

मकवानपुर – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत हेटौंडा–६ स्थित नेपाल–भारत मैत्री बहुप्राविधिक शिक्षालयमा आइतबार सञ्चालन गरिएको परीक्षा रद्द भएको छ । परीक्षामा पुरानो प्रश्नपत्र वितरण भएको पाइएपछि आइतबारको सबै परीक्षा रद्द गरिएको हो । केन्द्राध्यक्ष र बाह्य सहायकको लापरवाहीका कारण विद्यार्थीलाई पुरानो प्रश्नपत्र वितरण भएको बताइएको छ । पुरै समय परीक्षा दिएर बाहिर निस्किसकेपछि मात्र परीक्षा रद्द भएको जानकारी पाएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । परीक्षा सम्पन्न भएपछि मात्र रद्द गरिएको भन्दै उनीहरूले नाराबाजी गर्दै परीक्षा केन्द्र परिसरमै प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले आफूहरूले दिएको परीक्षालाई मान्यता दिनुपर्ने माग राखेका छन् ।
विद्यार्थीहरूले परीक्षा सूचनासमेत ढिलो पाएको र परीक्षा सकिएपछि मात्र परीक्षा रद्द गरिएको घोषणा गरिनु अन्यायपूर्ण भएको बताएका छन् । घटनाबारे केन्द्राध्यक्ष भुवनेश्वर रञ्जितकार र बाह्य सुपरिवेक्षक शंकर खतिवडा माथि छानबिन भइरहेको सीटीईभीटी हेटौंडा प्रदेश कार्यालयका प्रमुख हर्कलाल श्रेष्ठले जानकारी दिनुभयो । यस विषयमा दिउँसो ३ बजे जिल्ला परीक्षा समन्वय समितिको बैठक बस्ने उहाँले जानकारी दिनुभयो । पुरानो प्रश्नपत्र वितरण भएपछि फिजियोथेरापी अन्तर्गत बीएबिएल साइन्स, एचएको इनभाइरमेन्टल हेल्थ, प्लान्ट साइन्सको इन्ट्रोडक्टरी एनिमल हज्बेन्ड्री, प्रि–डिप्लोमा जेटिए एपिसरी कल्चर तथा भेटनरीका परीक्षा रद्द गरिएको छ । यी विषयहरुमा ७९ जना परीक्षार्थी उपस्थित थिए ।






प्रतिक्रिया राख्नुहोस्