पर्यटकीय स्थल रानी कोटमा सूर्योदय र सांस्कृतिक आत्मीयताको अनुभव लिँदै विदेशी पर्यटक

भक्तपुर-  भक्तपुरको दक्षिण–पूर्वी पहाडीमा अवस्थित ऐतिहासिक एवं पर्यटकीय स्थल रानी कोट अहिले देश–विदेशका पर्यटकहरूको रोजाइको केन्द्र बन्न पुगेको छ । हराभरा मध्य पहाडी भू–दृश्य, ऐतिहासिक किल्ला, गाउँघरको मौलिक जीवनशैली र आँखै अगाडि देखिने हिमालका दृश्यले अहिले विदेशी पर्यटकको पहिलो रोजाइ बन्न पुगेको हो । यो स्थानलाई शान्ति, सौन्दर्य र रोमाञ्चकताको अद्वितीय सङ्गम भन्दै उनीहरू रमाउन यहाँ पुग्ने गरेका हुन । यहाँको प्रत्येक क्षणले आगन्तुकलाई प्रकृति र इतिहासको गहिरो अनुभवमा डुबाउने भएकाले आन्तरिक पर्यटक पनि निकै रमाउने गर्दछन् ।

भिलेज हाइल्याण्ड रिर्सोट लगायत अत्याधुनिक रिर्सोटले पर्यटकलाई राम्रो बासको व्यवस्थाले गर्दा जस्तोसुकै निद्रामा भए पनि रानी कोटको सुनौलो सूर्यको उषा किरण हेर्न बिहान पाँच बजे उठेर रानीकोटगढी दरबार क्षेत्रमा पुग्छन् । काठमाडौँ उपत्यका र देखिने हिमालका सुन्दर दृश्य आफ्नो क्यामरामा कैद गर्न पर्यटकहरू व्यस्त हुन्छन् । युरोप, अमेरिका, कोरिया, अस्ट्रेलिया र भारतबाट आएका आगन्तुकहरू पदयात्रा गर्दै गाउँघरको जीवनशैली अनुभव गर्न पाउँदा सुकोमल वातावरणलाई धन्यवाद दिन्छन् । पहाडी दृश्यमा रमाउँदै काभ्रेको पनौती सम्म यही मार्गबाट पैदल यात्रा पच्छयाउँछन् ।

स्थानीय होटेल व्यवसायी र क्याफे सञ्चालक मुस्कुराउँदै भन्छन्,
“पहिलेको भन्दा अझ शान्त वातावरण छ, यहाँको ऊर्जा र जीवन्तता अद्भुत छ । पर्यटकहरूको आगमनले अझ हाम्रो व्यवसायमा नयाँ उत्साह ल्याएको छ ।”

सूर्यको किरणसँगै गाउँघर उज्यालोमा झिलिमिली देखिन्छ । बागभैरब जस्ता मन्दिरको शान्त वातावरण, ऐतिहासिक किल्लाको दिवारमा समयको छाप, र पदमार्गहरूमा गाउँलेहरूको सरल जीवनशैलीले आगन्तुकलाई साँच्चै नै रानी कोटको आत्मामा डुबाइदिन्छ । यहाँको स्थानीय समुदायले पर्यटकमैत्री व्यवहार राख्दै सांस्कृतिक पहिचान जगेर्ना गरेको अनुभव दिने भएकाले यहाँ आउने पर्यटक औधि रोमाञ्चित बन्छन् ।

रानी कोटमा हरेक दृश्यले कथा सुनाउँछ । गढीबाट देखिने सुनौलो सूर्योदय, हराभरा पहाडहरूको अनन्त हरियाली, गाउँघरका साँघुरा बाटो र मन्दिरको शान्त धुनका कारण आगन्तुकले यी दृश्यहरूमा मात्र रमाउँदैनन्, आफू पनि त्यो इतिहास र प्रकृतिको हिस्सा बनेको महसुस गर्छन् ।

पर्यटकहरूको बढ्दो भीडले यति बेला यहाँको सडक, सूचना बोर्ड, फोटोपोइन्ट र अन्य पूर्वाधार सुधारको आवश्यकता बढाएको छ । स्थानीय प्रशासन र पर्यटन व्यवसायीहरूले रानी कोटलाई व्यवस्थित र पर्यटकमैत्री गन्तव्य बनाउन अझै घचघच्याएको छ ।

ऐतिहासिक संस्कृतिले भरिपूर्ण र प्राकृतिक सौन्दर्यले सजिएको रानी कोटलाई अझ विदेशी पर्यटकले गर्दा यसको लोकप्रियता झनै बढाएको छ । पर्यटकहरूको घईँचो बढेसँगै पर्यटन व्यवसायीसँगै रानीकोटबासीमा निकै उत्साह थपिएको छ । सूर्य उदाउँदा हिमालको चमक र हरियाली पहाडले आगन्तुकलाई प्रकृति र इतिहासको संगममा विलीन गराउँछ ।

बदलिँदो प्रकाश हिमालको दृश्य र जङ्गलको छायाले बन्छ जादु ई वातावरण
रानी कोटमा बिहानको सूर्योदय हेर्दा, पर्यटक केवल दृश्य हेरेको मात्र हुँदैनन्, प्रकृतिको सङ्गीत, इतिहासको छाया र गाउँघरको आत्मीयता एकैसाथ अनुभव गर्न पाउने यहाँका पर्यटन व्यवसायी एवं होटेल भिलेजहाइल्याण्डका सञ्चालक राम सुन्दर बके बताउनुहुन्छ । यो अनुभव यस्तो छ कि एक पल पनि बिर्सन सकिँदैन । सूर्योदयको सुनौलो रङ, हिमालको शान्त छवि र पहाडी वातावरणले मनको हरेक भावनालाई छोइरहने उहाँको भनाइ छ ।

रानी कोटबाट देखिने प्रमुख हिमालहरू
सगरमाथा: विश्वकै सर्वोच्च शिखर, विशेष गरी स्पष्ट मौसममा टाढाबाट पनि चम्किएको देखिन्छ।
ल्होत्से हिमाल: सगरमाथासँगै अवस्थित यो हिमालको तेजस्वी रङ यहाँबाट देखिन्छ ।
अन्नपूर्ण र धौलागिरि हिमशृङ्खला पश्चिमी दिशा तर्फ, हिमालको विशाल शृङ्खला, हिमको चमकको अनुपम दृश्य देखिन्छ ।
माछापुच्छ्रे: यसको विशिष्ट टुप्पो सजिलै देखिन्छ ।
गौरीशंकरः पूर्व–दक्षिण पूर्वी दिशामा देखिने यो हिमाल पर्वतारोहण प्रेमीहरूका लागि निकै मनमोहक बनाइदिन्छ ।

विशेष हराभरा पहाडी पृष्ठभूमिमा यी हिमालहरू झलमल्ल देखिन्छन् । मौसम सफा हुँदा पूरा हिमाल शृङ्खला आँखामुनि फैलिएको अनुभव हुन्छ । सूर्यको प्रकाशले हिमालहरूको रङ सुनौलो–सुनौलो बनाउँछ । यही कारणले गर्दा रानी कोट केवल एक पर्यटनको गन्तव्य मात्र होइन, यो शान्ति, सौन्दर्य र सांस्कृतिक आत्मीयताको सङ्गम पनि हो । यहाँको मौलिकता र जीवन्तता देश–विदेशका पर्यटकको मन जित्दै, अनिवार्य गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । यहाँ आउने हरेक आगन्तुकले अनुभव गर्दै सूर्योदयको सुनौलो छाया, पहाडको हरियाली र गाउँघरको आत्मीयतालाई छाम्छन् । जसले तपाईँलाई आफैँसँग, र प्राकृतिक सौन्दर्यसँग जोड्ने अद्भुत अनुभव दिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.