राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा उधौली, ल्होसार र यमरी पर्वको छुट्टाछुट्टै शुभकामना सन्देश
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको उधौली तथा तमु गुरुङ समुदायको ल्होसार र नेवार समुदायको यमरी लगायत समग्र सांस्कृतिक पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
यस्ता चाडवाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने राष्ट्रपतिले शुभकामनामा उल्लेख गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले आज परेको चाडवाडका सन्दर्भमा शुभकामना दिनुहुदै देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको उल्लेख गर्नु भएको छ ।
शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको पनि बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता नै मुलुकको मौलिक पुँजी भएको बताउनुभएको छ।
तमु (गुरुङ) तथा किराँत राई समुदायले मनाउने चाडपर्वको अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले प्रचलित भाषा धर्म, संस्कृति, भेषभूषालगायतका विविधता नेपालको बहुमूल्य पुँजी हुन् भन्नुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र सहिष्णुताको यस पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विभिन्न संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भन्नु हुदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्नु भएको छ ।-
प्रतिक्रिया राख्नुहोस्