पशुपतिनाथलगायत देशभरका शिवालयहरुमा दर्शनार्थीको घुइँचो

काठमाडौँ- महाशिवरात्रि पर्वका अवसरमा आज देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ ।
काठमाडौँको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै भक्तजनहरुले पूजा एवं दर्शन गरिरहेका छन । पाशुपत क्षेत्रमा नेपालबाट मात्र होइन भारतबाट समेत हजरौँ भक्तजनहरु भेला भएका छन ।
भक्तजनको सुविधाका लागि दर्शनको व्यवस्था र अन्य व्यवस्था सहज र सरल बनाइको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
उता भक्तपुरस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरेर पूजा एवं दर्शनको व्यवस्था गरिएको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ः०० बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको बताउनुभयो ।
महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उहाँले सहजताका लागि स्वयंसेवक परिचलन, सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था र स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । महाशिवरात्रिको मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, कम्बल र धोती दिएर बिदाइ गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।
मन्दिरभित्र प्रवेश गरेर गर्भगृहमै पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएकाले पनि आजका दिन एक लाख दर्शनार्थीले मन्दिरको पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएका जानकारी दिनुभयो । उहाँले लाइन बसेको आधा घण्टामा पूजा गर्नेगरी व्यवस्थापन गरिएको र स्वयंसेवक परिचालन गरिएको बताउनुभयो ।
शिवरात्रीका लागि यस वर्ष भारतलगायत नेपालका विभिन्न ठाउँबाट करिब ४०० जना साधुसन्त एवं बाबाहरू आएको जानकारी दिँदै समितिका अध्यक्ष धर्मराज बस्नेतले डोलेश्वरमा उनीहरूलाई खाने, बस्ने र महाशिवरात्रिका दिन आउने दर्शनार्थीलाई प्रसाद ग्रहणको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
त्यसैगरी, महाशिवरात्रिका अवसरमा आज सिपाडोलकै प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै, सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
त्यसैगरी, चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित श्रीकृष्ण वर्तेश्वर महादेव मन्दिर, नगरकोटको रत्नचुडेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको र ती मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था गरिएको छ ।।






प्रतिक्रिया राख्नुहोस्