जगद्गुरु शङ्कराचार्य भारतीको नेपाल भ्रमण सफल भएको निश्कर्ष

काठमाडौँ- भारतको कर्नाटकस्थित श्रृंगेरी शारदा पीठका जगद्गुरु शङ्कराचार्य श्री श्री विदुशेखर भारती महास्वामीजीको १० दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। आयोजक शारदा पीठ नेपालका अध्यक्ष भेषराज थापाले उहाँको भ्रमण सफलतापूर्वक सम्पन्न भएको र भ्रमणले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई नयाँ आयाम दिएको बताए।
भ्रमणका सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलन गरी थापाले जगद्गुरु शङ्कराचार्यको भ्रमणले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो। भ्रमण सफल बनाउन सहयोग पुर्याउने नेपाल सरकार, सुरक्षा निकाय, पशुपति क्षेत्र विकास कोष, विभिन्न धार्मिक संस्था, भारतीय दूतावास, सञ्चारकर्मी, स्वयंसेवक तथा श्रद्धालु भक्तजनप्रति शारदा पीठ नेपालले आभार व्यक्त गरेको छ।
जगद्गुरु शङ्कराचार्य महास्वामीजीको नेपाल भ्रमणको सम्पूर्ण व्यवस्थापन भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले गर्नुभएको पीठका अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी गराए । महास्वामीजीलाई स्वागत र बिदाइ गर्न पनि गुरुङ दम्पती विमानस्थलमा पुगेका थिए । व्यवसायीका रुपमा जति सफल र परिचित छन् गुरुङ समाजसेवीका रुपमा त्यतिनै सुपरिचित छन् ।
संयोजक गणेश केसीले जगदगुरु शंकराचार्यको नेपाल भ्रमण अत्यन्तै सफल रहेको र उहाको भ्रमणले नेपाल र भारतबीचको सुमधुर सम्बन्ध अझ प्रगाढ बनाएको बताए।
भ्रमणका क्रममा उहाँले काठमाडौं उपत्यका, पोखरा, मुस्ताङ, म्याग्दी, बागलुङ र तनहुँका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको दर्शन तथा पूजा–अर्चना गर्नुभएको थियो।
काठमाडौं आगमनका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पशुपतिनाथस्थित शङ्कराचार्य मठसम्म भव्य स्वागत गरिएको थियो। विभिन्न धार्मिक संस्था, मठाधीश, साधुसन्त, सरकारी अधिकारी तथा श्रद्धालु भक्तजनको उपस्थितिमा उहाँको स्वागत गरिएको थियो।
नेपाल बसाइका क्रममा महास्वामीजीले पशुपतिनाथ, बुढानीलकण्ठ, राममन्दिर, भाटभटेनी देवी मन्दिर, कालभैरव, बसन्तपुर क्षेत्र, नारायणहिटी परिसरस्थित चतुर्व्यूह नारायण मन्दिर, गोदावरीस्थित सरस्वती कुण्ड, तिलेश्वर महादेव, पाटन कृष्ण मन्दिर तथा चन्द्रागिरिस्थित भालेश्वर महादेवलगायतका धार्मिक स्थलहरूको दर्शन गर्नुभयो।
उहाँले पोखरास्थित विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर महादेव, केदारेश्वर मन्दिर तथा मुस्ताङको मुक्तिनाथ मन्दिर, कागबेनी, जोमसोम, म्याग्दीको गलेश्वरधाम, बागलुङको शालिग्राम सङ्ग्रहालय र तनहुँको वेदव्यास जन्मस्थलको पनि भ्रमण गर्नुभयो। देवघाटधाममा त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा स्नान गरी वशिष्ठ गुफा तथा सीता गुफाको दर्शनसमेत गर्नुभएको थियो।

यसैगरी, देवघाटस्थित हरिहर आश्रममा दुई दिन रहँदा उहाँले संस्कृतका विद्यार्थी, प्राचार्य तथा विद्वानहरूसँग वेद–वेदाङ्गसम्बन्धी शास्त्रार्थ गर्नुभएको थियो। सो अवसरमा निर्माण हुन लागेको ‘शङ्कराचार्य स्वाध्याय भवन’ को शिलान्यासका लागि शिला पूजा पनि सम्पन्न गरिएको थियो।
भ्रमणका क्रममा महास्वामीजीले काठमाडौंको हेपाली हाइटस्थित इन्स्टिच्युट अफ चाइल्ड हेल्थको नवनिर्मित बाल अस्पताल भवनको पनि उद्घाटन गरेका थिए । सो अवसरमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको “शङ्कराचार्य बालगोपाल उपचार कोष” स्थापना गर्ने घोषणा गरिएको थियो।
यसैगरी, उहाँले नेपाल प्रहरी प्रधान कार्यालय तथा पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना मुख्यालय परिसरमा वृक्षारोपण गरी सुरक्षाकर्मीहरूलाई नैतिकता, अनुशासन र धर्मपालनबारे आशीर्वचन दिनुभएको थियो। पोखरामा वृक्षारोपण गरिएको क्षेत्रलाई “शङ्कराचार्य वाटिका” नामकरण गरिएको छ।।






प्रतिक्रिया राख्नुहोस्