उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि,महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
काठमाडौं -नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीले अग्रता लिनुभएको छ। महामन्त्री पदमा प्रदीप पौडेल अगाडि रहनु भएको छ ।
हालसम्म २ हजार २३१ मत गणना हुँदा महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले १ हजार ३८१ मत प्राप्त गर्नुभएको छ। दोस्रो स्थानमा रहनुभएका उदयशमशेर राणाले ७८६ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, अमरसिंह पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गर्नुभएको छ।
उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारीले १ हजार ५७ मतसहित अग्रता लिनुभएको छ। उहाँलाई ई. मधु आचार्यले ७१२ र सुरेन्द्रराज पाण्डेले ६८० मतसहित पछ्याइरहनुभएको छ। त्यस्तै, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत प्राप्त गर्नुभएको छ। खुलातर्फबाट दुई जना उपसभापति निर्वाचित हुनुहुनेछ।
उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिनुभएको छ। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत प्राप्त गर्नुभएको छ। यस समूहबाट एक जना उपसभापति निर्वाचित हुनुहुनेछ।
महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ९६५ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ। महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत प्राप्त गर्नुभएको छ भने रिता खनालले २५१ मत प्राप्त गर्नुभएको छ। यस समूहबाट एक जना महामन्त्री निर्वाचित हुनुहुनेछ।
महाधिवेशनमा कुल ७ हजार ४३ मत खसेको छ। हालसम्म २ हजार २३१ मत गणना भएको छ। मतगणना जारी रहेकाले पदाधिकारीको अन्तिम परिणाम आउन बाँकी छ।






प्रतिक्रिया राख्नुहोस्