साप्सुखोलामा मोटरेबल पुल निर्माणको काम तिब्र
बैशाख- अधिकांश बिकास निर्माण कार्यहरुमा ढिलासुस्ती भइरहेको खोटाङमा साप्सुखोला मोटरेबल पुल भने समयमै बन्ने आशा पलाएको छ ।
करिब एक महिना म्याद बाँकी रहँदा दिक्तेल-रुपाकोट- मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको प्रिस्ट्रेस बिम मोटरेबल पुल ढलान सुरु गरिएको छ ।
४० मिटर लम्बाई भएको प्रिस्ट्रेस बिम पुल निर्माणको ठेक्का लिएको निर्माणकम्पनी सुर्य एण्ड सन्स प्रालिले ढलान कार्य शुरु गरेको हो । बैसाख १७–१८ गतेसम्ममा पुल ढलानको काम सम्पन्न हुने निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट इन्चार्ज हरिप्रसाद बरालले बताउनुभयो ।
संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेटमा साप्सु खोलामा पक्कीक पुल निर्माण सुरु गरिएको हो ।
पुल निर्माणमा गाउँपालिकाको २ करोडको हाराहारीमा बजेट खर्च हुने जनाइएको छ । सूर्य एण्ड सन्स प्रालिले २०७८ जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ जेठ १७ गते सम्झौता गरेको थियो ।
मुल्य अभिबृद्धि कर सहित ५ करोड ६० लाख १० हजार ५ सय ४५ मा पुलको ठेक्का लिएको निर्माण कम्पनीले शिलान्यास भएको ६ महिनापछि मात्र काम सुरु गरेको थियो ।
दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि प्रिस्ट्रेस बिम पुल निर्माणको काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्