छुटेका पत्रकारलाई यथासम्भव छिटो खोपः स्वास्थ्य मन्त्री
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले छुटेका पत्रकारलाई यथासम्भव छिटो खोपको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले बुधबार बुझाएको ज्ञापन पत्र लिंदै मन्त्री तामाङले यथासम्भव छिटो खोपको व्यवस्था गर्ने बताउनुभएको हो । ‘यसअघि लगाइएको खोप अभियानमा छुटेका पत्रकारलाई मौज्दातको अवस्था हेरेर प्राथमिकतामा राखेका छौं,’ उहाँले भन्नुभयो ।
प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीसहितका टोलीले राजधानीकेन्द्रित मूलधारका सञ्चारगृहमा कार्यरत झण्डै ६ हजार पत्रकार खोपबाट छुटेको भन्दै नामावलीसहितको ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष अधिकारीले खोपका कारण नै कतिपय सञ्चारकर्मीलाई रिपोर्टिङ गर्न समस्या भएको बताउनुभयो ।
प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपालले फ्रन्टलाइनमा रहेका पत्रकारका लागि खोपमा प्राथमिकता दिन मन्त्री तामाङको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्