वैद्यको अभिव्यक्ति फौजदारी कानुन आकर्षित हुने विषयः एमाले

कांग्रेस प्रवक्ता भन्नुहुन्छ– ‘आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न’

काठमाडौं– एमालेले नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्ति फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको बताएको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ती जारी गर्दै वैद्यको अभिव्यक्तिबारे नेपाली कांग्रेसको ध्यानाकर्षणसमेत गराउनुभएको छ । ‘बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ,’ विज्ञप्तीमा भनिएको छ, ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

वैद्यले प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । ‘ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ,’ वैद्यले भन्नुभएको थियो, ‘खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्‍यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’

आत्मालोचना गर्न कांग्रेसको निर्देशन

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति फिर्ता लिएर आत्मआलोचना गर्न निर्देशन दिनुभएको छ । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न, शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन,’ उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.