डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इङ्ल्याण्डद्वारा फाइनलको यात्रा तय

जारी युरोकप २०२० अन्तर्गतको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । इङ्ल्याण्डको घरेलु मैदान वेम्ब्लीमा ६० हजार दर्शकमाझ आज बिहान सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो ।

पहिलो हाफको ३०औं मिनेटमा डेनमार्कका ड्याम्स गार्डले फ्रि-किकमार्फत उत्कृष्ट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर डेनमार्कको यो अग्रता धेरैबेर टिक्न भने सकेन ।

इङ्ल्याण्डका बुकाओ साकाले निकालेको क्रस बल डेनिस कप्तान सिमोन कायरलाई लागेर आत्मघाती गोल भएपछि पहिलो हाफ खेल बराबरीमा पुगेको थियो ।

दोस्रो हाफ र इन्जुरी समय पनि खेल बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको पहिलो हाफमा इङ्ल्याण्डले पाएको पेनाल्टीलाई इङ्लिस कप्तान ह्‍यारी क्यानले प्रहार गर्दा डेनिस गोल रक्षक कास्पर स्माइकलले सानदार बचाउ गरिदिएपनि रिबाउन्डमा फेरी केनको खुट्टामा फर्किएको बललाई दोस्रो मौका छोपरी केनले गोल गरेपछि इङ्ल्याण्ड विजय भएको हो ।

यो जीतसँगै इङ्ल्याण्ड सन् १९६६ पश्चात कुनैपनि प्रमुख प्रतियोगिताको फाइनलमा पहिलोपटक प्रवेश गरेको हो । ५५ वर्षअघि विश्वकप जितेको इङ्ल्याण्डले अब आफ्नो पहिलो युरोकपको उपाधीका लागि इटालीसँग आफ्नै घरेलु मैदानमा जुलाई ११ तारिखमा प्रतिस्पर्धा गर्नेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.