सिलवालको रिट खारेज, टङ्कलाल घिसिङलाई काम गर्ने बाटो खुल्यो
काठमाडौं- सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवालको रिट खारेज गरेको छ । न्यायाधिशद्वय कुमार रेग्मी र अनिलकुमार सिन्हाको इजलाशले उक्त रिट खारेज गरेको हो ।
कार्यसम्पादन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को बैठकले सिलवाललाई गत कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो । मङ्सिर १३ गते सरकारले टङ्कलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।
सिलवालले मन्त्रिपरिषद्को निर्णयविरुद्ध कात्तिक २८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लगत्तै सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । सिलवाललाई २०७६ असारमा केपी शर्मा ओली नेतृत्वको सरकारले सदस्य सचिवमा नियुक्त गरेको थियो । रिट खारेजपछि यसअघि जारी अल्पकालिन आदेश स्वतः बदर हुने भएकाले सरकारले पछि नियुक्त गरेका घिसिङलाई सदस्य सचिवको रुपमा काम गर्न बाटो खुलेको छ ।
प्रतिक्रिया राख्नुहोस्