गठबन्धन छँदैछ भनेर ढुक्कले नबसौं : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन छँदैछ भनेर ढुक्कले नबस्न पार्टीका नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि राजधानीमा सोमबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताको मन जित्न आग्रह गर्नुभयो । ‘गठबन्धन छँदैछ चुनाव जितिहालिन्छ भनेर ढुक्कले नबसौं,’ उहाँले भन्नुभयो, ‘जनता भन्दा ठूलो कोही छैन, जनतामा जान, जनताको विश्वास जित्न आग्रह गर्दछु ।’

गएको स्थानीय चुनावमा गठबन्धनका कारढा कांग्रेसलाई महत्वपूर्ण सफलता मिलेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले आगामी निर्वाचनमा पनि कांग्रेसले महत्त्वपूर्ण सफलता हात पार्ने दाबी गर्नुभयो । उहाँको भनाइ थियो, ‘आम निर्वाचनलाई सफलता साथ सम्पन्न गर्ने, कांग्रेसलाई ठूलो पार्टी बनाउने लक्ष्य छ ।’

आफूले विशिष्ट अवस्थामा जिम्मेवारी लिएको उल्ले गर्दै उहाँले संविधानअनुसार शासन सत्ता चलाउन आफू सफल भएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले जति चुस्त र प्रभावकारी तवरले सार्वजनिक सेवा प्रवाह गर्न सक्नुभयो, जति प्रभावकारी तवरले विकास निर्माणका कार्यलाई अघि बढाउनसक्नु भयो, जनताले त्यति धेरै सुशासनको अनुभूति गर्न पाउँछन् ।

निर्वाचित भइसकेपछि दलीय आग्रहभन्दा माथि उठेर जनताको साझा प्रतिनिधिको रूपमा सबैसँग सौहार्द्रपूर्ण सम्बन्ध र उचित समन्वय कायम गरेर काम गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एउटा राजनीतिक दलबाट निर्वाचित भएर आए पनि नेतृत्वमा पुगेपछि सबैलाई समेटेर अघि बढ्नसक्नु र विकास निर्माण र सेवा प्रवाहमा मेरो तेरो नभनी सबैलाई बिना भेदभाव समान पहुँच स्थापित गर्नसक्नु कुशल नेतृत्वको गुण हो भन्नुभयो ।

कार्यक्रममा पार्टी उपसभापति धनराज गुरुङले स्थानीय जनप्रतिनिधिलाई जनताका काम जिम्मेवारीपूर्वक पारदर्शी रुपमा गर्न आग्रह गर्नुभयो । उहाँले जनताका प्रश्नको जवाफ कामले दिनुपर्ने बताउँदै चुनावी घोषणा र प्रतिबद्धताअनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह समेन गर्नुभयो । स्थानीय तहका पदाधिकारी नै पार्टीको जग भएकाले आगामी निर्वाचनमा कांग्रेसको पक्षमा बहुमत प्राप्त गर्नका लागि भूमिका खेल्न उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित कार्यक्रममा कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ३४, उपप्रमुख २३, नगरपालिकाका प्रमुख १४१, उपप्रमुख ११०, गाउँपालिका प्रमुख १८८, उपाध्यक्ष १९० लाई निमन्त्रणा गरिएको थियो । यस बाहेक उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको पनि उपस्थिति रहेको पार्टी कार्यालयले जनाएको छ । कार्यक्रमको पहिलो दिन आज उद्घाटनपछि संविधान, स्थानीय तह, राजस्व, तीनै तहका सरकारको अन्तरसम्बन्धलगायत क्षेत्रका विज्ञहरु काशिराज दाहाल, जगदीश भट्टराई, डा विश्वनाथ पौडेल र सन्तोषमणि नेपालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी दास्रो दिन पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता एवं गृहमन्त्री बालकृष्ण खाण, प्रवक्ता डा प्रकाशशरण महतले प्रशिक्षण दिनुहुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.