गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन: मन्त्री कार्की

सुनसरी- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गुणस्तरीय शिक्षाबिना विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिने बताउनुभएको छ ।

सुनसरीको धरान उमहानगरपालिका–१३ स्थित नेपाल पुलिस स्कुलमा निर्माण भएको नेपाल–भारतमैत्री भवन उद्घाटन गर्दै उहाँले गुणस्तरीय शिक्षाबिना अन्य विकास हुन नसक्ने भएकाले शैक्षिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले गुणस्तरीय र प्रतिस्पर्धी विद्यार्थी उत्पादनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । प्रतिभाशाली शिक्षणका लागि भारत सरकारले निर्माण गरेको भवनले महत्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “भारत सरकारले विसं २००७ देखि नेपालको विकास निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।”

सो अवसरमा मन्त्री कार्कीले समृद्ध, समुन्नत र शान्त नेपाल निर्माण गर्नका लागि सबै देशको सहयोग लिएर अगाडि बढ्ने सरकारको नीति रहेको उल्लेख गर्नुभयो ।

भारत सरकारले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाइको विकासका लागि निर्वाह गरिरहेको भूमिकाप्रति मन्त्री कार्कीले नेपाल सरकारकोतर्फबाट भारत सरकारलाई धन्यवादसमेत ज्ञापन गर्नुभयो । भारत सरकारसँग विगतदेखि नै सम्बन्ध सुदृढ रहेको बताउँदै उहाँले थप सम्बन्ध विस्तार गरेर देशको धार्मिक पर्यटन र जलस्रोतको विकास गर्नुपर्ने समय आएको बताउनुभयो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरुपमा नेपाल–भारत मैत्री भवनको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका–६ (चक्रघट्टीमा) उद्घाटन गर्नुभएको हो । रु दुई करोड २१ लाख लागतमा १६ कोठे भवन निर्माण भएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.