उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

उपराष्ट्रपति पदका उम्मेदवार यादवविरुद्ध उजुरी

काठमाडौं- उपराष्ट्रपति पदको निर्वाचन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यसका लागि अपरान्ह ४ देखि ५ बजे को समय छुट्याइएको छ ।

त्यसअघि १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगले आज मध्यान्ह १२ बजेसम्म मनोनयनपत्र र उजुरी उपर ‍जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।

आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यसैगरी राष्ट्रिय जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिनुभएको छ ।

संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने छ ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

यसैबीच जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको छ । यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको दाबी गर्दै नेकपा एमालेका सांसद महेश बर्तौलासहितले नयाँबानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको हो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ (५)मा उपराष्ट्रपतिका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति मनोनयन गर्नुपर्ने व्यवस्था गरेको उजुरीमा भनिएको छ ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपतिमा महिला हुनुपर्ने सांसद बर्तौलाको दाबी छ । नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता गरिएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.