रामसहायप्रसाद यादव:शिक्षकदेखि उपराष्ट्रपति सम्म

काठमाडौ- करिव ३ दशक लामो राजनीति यात्रासंगै उपराष्ट्रपति निर्वाचित रामसहायप्रसाद यादव राजनीतिसंगै शिक्षण पेशामा पनि लामो समय रहनुभयो । करिव २० वर्षको उमेरबाटै मधेशको राजनीतिकमा क्रियाशील यादव २०६४ पछि राष्ट्रिय राजनीतिमा उदाउनुभएको हो । जनता समाजवादी पार्टीको महासचिव हुँदै गत पुसमा सर्वसम्मतरुपमा जसपाको संसदीय दलको नेता चयन हुनुभएका यादव आज ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनुभएको हो ।
उपराष्ट्रपति निर्वाचित रामसहायप्रसाद यादवको जन्म २०२७ सालमा बाराको कर्चोवामा भएको हो । यादव स्थानीय विद्यालयबाट एसएलसीसम्मको अध्ययनपछि सितामढी कलेज भारतबाट विज्ञानमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट शिक्षा संकायमा स्नातक हुनुहुन्छ । नेपाल सद्भावना पार्टीमा रहेर २०४७ सालदेखि राजनितिमा सक्रिय यादव २०६४ र २०७० मा तत्कालिन संघीय समाजवादी फोरमबाट संविधानसभा सदस्यमा रहनुभयो । गत मंसीरमा सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित यादव राजनीतिमा नयाँ नाम नभएपनि धेरै चर्चा नगरिएको नाम हो । राजनीतिक जीवनसंगै करिव १६ वर्ष शिक्षण पेशामा आवद्ध उपराष्ट्रपति निवाचित रामसहायप्रसाद यादव २०६४ सालमा स्थायी शिक्षकबाट राजीनामा दिएर सक्रिय राजनीतिमा लाग्नुभयो । मधेशका पुराना पहिचानवादी नेता गजेन्द्र नारयाण सिंह र त्यसपछि हालको जसपाका अध्यक्ष उपेन्द्र यादवको निकट रहेर निरन्तर राजनितिमा सक्रिय यादव २०६५ सालदेखि जनता समाजवादी पार्टीको महासचिव रहनुभयो । गत पुसमा जसपाको सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन हुनुभयो । निष्ठाको राजनितिमा निरन्तर लाग्नुभएका यादव तत्कालिन सद्भावना पार्टीको विभाजन रोक्न आमरण अनसन समेत वस्नुभएको थियो । त्यसैक्रममा भूमिगतरुपमा काम गरिरहनुभएका तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसंग उहाँको भेट भयो ।
त्यसपछि त्यसवेलाको भूमिगत नाम ‘चन्द्रगुप्त’ अर्थात उहाँकै संयोजकत्वमा २०६० सालमा फोरमको वारा जिल्ला समिति गठन भयो । २०६२ मै उहाँ फोरमको केन्द्रीय सदस्य बन्नुभयो । त्यसपछि फोरमबाटै राजनितिमा निरन्तर क्रियाशील यादव २०६४ सालमा संविधानसभा सदस्य भएपनि संविधान नबनेसम्म सरकारमा जानु नहुँने अडानका पक्षधर हरनुभयो । तर उहाँ आवद्ध पार्टी सरकारमा गयो । पार्टी सरकारमा गएपनि उहाँले मन्त्रिपद अस्वीकार गर्नुभयो । २०७४ सालको निर्वाचनमा पनि बारा–२ बाट निर्वाचित यादवले २०७८ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.