जनगणना २०७८ : गाउँबाट शहर पलायन हुनेको संख्या ३ प्रतिशतले बढ्यो
काठमाडौँ- राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्नु भएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार २०७८ साल मंसिर ९ गतेसम्म नेपाल भित्र बसोवास गर्ने जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात ४८ दशमलव ९८ प्रतिशत र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ अर्थात ५१ दशमलव ०२ प्रतिशत छ ।
जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५ दशमलव ५९ जना रहेको छ । २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ र लैङ्गिक अनुपात ९४ दशमलव १६ थियो ।
राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघ मै सार्वजनिक गरिएको थियो ।
प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।
नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ । जनगणना २०७८ अनुसार देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९ सय ३७ छन् । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८ सय ४१ र संयुक्त परिवार ६ हजार ९६ रहेका छन् ।
प्रति परिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४ दशमलव ३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो ।
भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रमा ४ दशमलव ३३ जना, पहाडमा ३ दशमलव ९९ जना र तराई क्षेत्रमा ४ दशमलव ७३ जना सदस्य रहेका छन् ।
परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३ सय २ रहेको थियो ।
२०७८ को जनगणना अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६६ दशमलव १७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३३ दशमलव ८३ प्रतिशत रहेको सार्वजनिक गरिएको जनगणनामा उल्लेख गरिएको छ ।
१० बर्षको अवधिमा गाँउबाट शहर बसाइ सराइ गर्नेको संख्या ३ प्रतिशतले बढेको छ ।।
प्रतिक्रिया राख्नुहोस्