जुरे पहिरो पीडितले नगद राहत पाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं- जुरे पहिरो पीडितले मागबमोजिम नगदै राहत पाउने भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार अब जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहको समन्वयमा पीडितको यकिन तथ्याङ्कका आधारमा मापदण्ड बनाएर राहत वितरण गर्नेछ ।

मन्त्रिपरिषद् बैठकले ‘जुरे पहिरो पीडितका लागि जनस्तरबाट सङ्कलित नेपाल बैंक लिमिटेड, चौताराको खातामा जम्मा भएको रु दुई करोड २४ लाख ६६ हजार छ सय ५७ स्थानीय तहको समन्वयमा पीडितलाई नगद राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिने’ निर्णय गरेको सिन्धुपाल्चोक–१ बाट निर्वाचित सङ्घीय सांसद माधव सापकोटाले जानकारी दिनुभयो ।

आठ वर्षयता रोकिएको रकम वितरणका लागि विगतदेखि नै पहल हुँदै आएको थियो । सांसद सापकोटाले गत फागुन ३० गते जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जुरे पहिरोपीडित कोषमा जम्मा भएको सो रकम मापदण्डका आधारमा प्रभावितलाई नै उपलब्ध गराउन रायसहित गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णयका लागि नेतृत्व गर्नुभएको थियो । विसं २०७१ साउन १७ गते सिन्धुपाल्चोकको जुरे क्षेत्रमा पहाडै खसेर भोटेकोसी नदी थुनिएको थियो । पहिरोमा परी एक सय ४५ जनाले ज्यान गुमाएका थिए भने एक सय ५३ घरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.