धनकुटामा बन्यो व्यवस्थित आइसोलेसन

पिसिआर परीक्षण पनि धनकुटामै हुने

धनकुटा– जिल्लामा कोरोना संक्रमितहरुहरुको उपचारका लागि आइसोलेसन कक्ष सञ्चालनमा आएको छ।

धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको औद्योगिक ग्राममा २० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको हो। सो ठाउँमा यसअघि धनकुटा नगरपालिकाले क्वारेन्टाइन सञ्चालन गरेको थियो। हाल आएर औद्योगिक ग्राममा रहेका केही भवनमा क्वारेन्टाइन र केही भवनमा आइसोलेसन सञ्चालन गरिएको हो।

धनकुटामा जिल्लामा पछिल्लो समय अत्याधिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा संक्रमिततलाई राख्ने अस्पतालमा बेड अभाव भएको कारण धनकुटामा आइसोलेसन सञ्चालन गरिएको हो। आइसोलेसन कक्ष निर्माण भएसँगै शनिबार संक्रमण पुष्टि भएका १९ जनालाई धनकुटामै राखेर उपचार थालिएको छ।

यसअघि धनकुटामा भेटिएका कोरोना संक्रमितलाई उपचारका लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल बिराटनगर र मोरङको गोठगाउँमा रहेको कोरोना अस्पतालमा पठाउने गरिएको थियो।

यता सरकारले धनकुटामा ४ वटा भेन्टिलेटर, ६ वेडको आईसियू कक्ष सहितको ४० बेडको आइसोलेसन निर्माण गर्न दुई करोड बजेट उपलब्ध गराएको छ। ४ वटा भेन्टिलेटर, ६ वेडको आईसियू कक्ष सहितको ४० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सरकारले अनुमति प्रदान गरी कोरोना कोषमार्फत बजेटको सिलिङ पठाएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाई बताए।
संघीय सरकारले कोरोना संक्रमितहरुलाई उपचार गर्न र कोरोनाको नियन्त्रण गर्न आइसुलेसन सेन्टर तथा भेन्टिलेटरसहितको आईसियू कक्ष निर्माण गर्न बजेट पठाएको हो। उनले धनकुटामा हाल २० वेडको आइसोलेसन कक्ष निर्माण भएको भएपनि चाँडै ४० वेडको आइसोलेसन बनाइने बताए।

यस्तै आइसोलेसनमा सञ्चालनमा आएपछि नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाले कम्बल ३० थान, बिर्को सहितको प्लास्टिक बाल्टिन १० थान, प्लास्टिक जग ८ थान, स्ट्रेचर १ थान, नुहाउने साबुन ७ दर्जन सहयोग गरेको छ। जहाँ विपद त्यहाँ रेडक्रस भन्ने नाराका साथ आइसोलेसनमा बस्ने मानिसलाई सहयोग पुगोग भनेर सहयोग गरिएको रेडक्रस धनकुटाका सभापति हरिकुमार राईले जानकारी दिए।

पिसिआर परीक्षण पनि धनकुटामै हुने
धनकुटा जिल्ला अस्पतालमा कोरोना संक्रमण सम्बन्धी स्वाबको नमुनाबाट गरिने पिसिआर परीक्षण पनि धनकुटामै हुने भएको छ। स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख गुरागाईका अनुसार संघीय सरकारले पीसीआर परिक्षण मेसिन खरिद गर्न एक करोड बजेट पठाएको छ।

कोरोनाको परिक्षणको दायरा बढाउन संघीय सरकारले पीसीआर परिक्षण मेसिन जडान गर्न बजेट निकाशा गरेको हो। पिसिआर परिक्षण मेसिन जडानका लागि बजेटको सिलिङ आएको र अब खरिद प्रक्रिया सुरु भएको गुरागाईले बताए। उनले बढीमा दुई महिनामा धनकुटामा पिसिआर परिक्षण मेसिन जडान हुने बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको असार १२ गते र कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसिआर परिक्षण मेसिन राख्ने निर्णय गरेको गरेपछि बजेट निकासा भएको हो।

धनकुटामा पिसिआर परिक्षण मेसिन जडान भएपछि कोशी पहाडी जिल्ला धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको स्वाब परिक्षण गरिने भएको छ। कोशी पहाडी जिल्लामा पिसिआर परिक्षण मेसिन नहुँदा यी जिल्लामा संकलित स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने गरिएको थियो। जसले गर्दा रिपोर्ट ढिलो आउने तथा संकलित स्वाब हराउने गरेको छ। धनकुटामा पछिल्लो समय आइसोलेसन तयारी हुनु र पिसिआर परीक्षण गर्ने मेसिन सञ्चालकको पनि तयारी हुनुले केही राहत महसुस भएको स्थानीय बताउँछन।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.