विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस

काठमाडौं- सरकारले विभिन्न मुलुक तथा नियोगका लागि छ जना राजदूत सिफारिस गरेको छ । नेतृत्वविहीन सात दूतावासमध्ये छ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्को बिहीबारको बैठकले मन्त्रालयले सिफारिस गरेका नामलाई अनुमोदन गर्दै राजदूतका लागि सिफारिस गरेको हो । सिफारिस भएका छ जना नै परराष्ट्र मन्त्रालयका सहसचिव अर्थात् पेसागत कूटनीतिज्ञहरु हुन् ।

जसअनुसार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा सहसचिव लोकबहादुर थापा सिफारिस हुनुभएको छ । त्यस्तै जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नेपाली नियोगका लागि रामप्रसाद सुवेदी सिफारिसमा पर्नुभएको छ ।

सहसचिव तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस हुनुभएको छ । सहसचिव घनश्याम लम्साल कुबेतका लागि, मन्त्रालयको क्षेत्रीय सङ्गठन विभाग प्रमुख धनबहादुर ओली थाइल्यान्डका लागि र शिष्टाचार विभाग प्रमुख सुधीर भट्टराई फ्रान्सका लागि राजदूत सिफारिस हुनुभएको छ ।

मन्त्रालयका अनुसार क्यानडाको राजदूत सिफारिस हुन बाँकी छ । सिफारिस भएसँगै अब नियुक्तिको प्रक्रिया अघि बढ्न संसदीय सुनुवाइमा जानेछ । त्यहाँबाट स्वीकृत भएर अघि बढेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.