मन्त्रिपरिषद्को विशेष बैठक बस्दै
काठमाडौं- इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाउनुभएको छ ।
अहिले ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्रीले आजै बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाउनुभएको छ। बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुने जनाएको छ ।
नेपाली समयअनुसार शनिवार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहनु भएको छ ।
प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको सङ्कट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्