भरतपुर महानगरपालिकामा ‘महानगरीय रिङरोड’ बनाउने अभियान तीव्र

चितवन- चितवनको भरतपुर महानगरपालिकामा महानगरीय रिङरोड बनाउने अभियान तीव्र पारिएको छ । केन्द्र, प्रदेश र महानगर आफैले वजेट विनियोजन गरि झण्डै ८८ रिङरोड (चक्रपथ) मध्ये अहिलेसम्म ४५ किलोमिटर सडक निर्माण सम्पन्न भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

सडक सञ्जाल विस्तार बिना यहाँको विकास पुरा नहुने भन्दै आफुहरुले बहुबर्षिय योजना अन्तर्गत महानगरीय रिङरोडलाई प्रथामिकता दिएर काम गरेको बताउनुभयो । अभियान अन्तर्गत नै महानगरीय रिङरोडको पश्चिम खण्डको उद्घाटन गरिएको छ ।

वागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा बनेको करिब आठ किलोमिटर सडकको बिहिबार बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा मन्त्री दुलालले भरतपुरको विकासका लागि रिङरोडले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘अहिले राजधानीमा २८ किलोमिटर मात्र रिङरोड छ । यहाँ ८८ किलोमिटर बन्दै छ । यसले सिंगो भरतपुर महानगरपालिकालाई समेट्छ,’ उहाँले भन्नुभयो । त्यसबखत उहाँले वागमती प्रदेश सरकारको स्रोतबाट एक हजार किलोमिटर सडक कालोपत्रे गरिएको पनि जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालय चितवनको नेतृत्वमा निर्माण भएको करिब आठ किलोमिटर सडक शिसवार, शिशै, वनकट्टा, मगनी नमुनाचोक, पिपरा, ददहनी क्षेत्रलाई समेटेको छ ।

भरतपुर महानगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको यस रिङरोडको काम विभिन्न चरणमा भइरहेका छन् । पश्चिम खण्डको ८ किलोमिटर सडक निर्माण भएको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

वि.सं. २०७८ साल पुस ८ गते निर्माणका लागि ठेक्का सम्झौता गरी वि.सं. २०८० साल असोज ८ गते सडक कालोपत्रे गरिएको हो । १४ करोड ६० लाख ६६ हजार ६५५ रुपैयाँमा भीमेश्वर ड्रिलिङ्ग तथा निर्माण सेवा कम्पनीले निर्माण सम्पन्न गरेको हो ।

समयमै काम सम्पन्न गरेको भन्दै सो अवसरमा निर्माण व्यवसायी सहदेव खड्कालाई सम्मान समेत गरिएको थियो । सडकको भाग १० मिटरको रहेपनि स्थानीयले ३० मिटरसम्म कुनै पनि संरचना निर्माण गर्न नपाउने पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख विरेन्द्र कुमार चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.